देवदह । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन राजा ज्ञानेन्द्र, गिरिजाप्रसाद कोईराला र आफूबीच गणतन्त्र ल्याउने सहमति भइसकेपछि मात्रै माओवादी जनयुद्ध रोकिन आएको बताएका छन्।
आइतबार पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) वाग्मती प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी जनयुद्ध तीन नेताबीचको सहमतिपछि मात्रै मिसिएको बताएका हुन्। एमालेमै रहँदा साउन महिनामै गणतन्त्र ल्याउने निर्णय गरिसकेको दाबी गर्दै उनले ज्ञानेन्द्रले अधिकार जनतालाई सुम्पिएको पनि स्मरण गरे।
पछिल्ला घटनाक्रमप्रति संकेत गर्दै अध्यक्ष नेपालले पूर्वराजाका सचिवको भनाइ 'राजा फर्किने कुरा छैन, राजाको पनि इच्छा छैन' सुनेको उल्लेख गर्दै उनले अत्तालिन नपर्ने बताए। पूर्वराजाको नाम लिएर अरुले फाइदा उठाउन खोजेको भन्दै उनले भने, ‘राजनीति गर्नु छ भने पार्टी खोल्नुस्, चुनावमा आउनुस्, बहुमत ल्याउनुस्, देश र जनताको भलो गर्नुहोस्। हामी त केपी ओलीलाई पनि राम्रो बन्नुस् भनेका छौं।’
पूर्वराजा फर्काउने प्रयासबारे उनले प्रश्न उठाउँदै भने, ‘राजाहरुले विगतमा के गरे? विकासको योजना छ? वंशको शासनले देश बनाउँछ भन्ने प्रमाण के छ?’ उनले वंशीय शासन कहिल्यै राम्रो नहुने बताउँदै पूर्वराजालाई चुनौति दिए– ‘देश बनाउने हो भने राम्रो पार्टी खोल्नुस्, चुनाव जित्नुस्, सरकार चलाउनुस्।’
गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताउँदै उनले अहिलेको व्यवस्था अझ समुन्नत बनाउनुपर्ने धारणा राखे। बाटाघाटा, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा प्रगति भएको भए पनि भ्रष्टाचारले जनतामा निराशा बढेको बताए।
राजावादीले मच्चाइरहेको हल्लामा सत्यता नरहेको दाबी गर्दै अध्यक्ष नेपालले सरकारमा बसेर राजावादी नेता आफैंले अरुलाई दोष दिने प्रवृत्तिको आलोचना गरे। एमाले, कांग्रेस, माओवादी केन्द्रको कार्यालयमा सुरक्षा भए पनि आफ्नो पार्टी कार्यालयमा सुरक्षा नदिएको भन्दै असन्तुष्टि जनाए। तत्काल क्षतिपूर्तिको माग समेत गरे।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology