देवदह । नारायणघाट-बुटवल सडकको दाउन्ने खण्डमा निर्माण र मर्मत कार्यका कारण सवारी सवारी आवागमन रोकिने भएको छ। सडक विभागले सूचना जारी गर्दै सडकको दाउन्ने क्षेत्रमा दुई चरणमा काम हुने जनाएको छ।
प्राप्त सूचना अनुसार सडकको पहिलो चरणको काम २०८१-१२-२७ देखि २०८१-१२-३१ सम्म दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ। दोस्रो चरणमा भने, २०८२-०१-०१ देखि २०८२-०१-१५ सम्म प्रत्येक राती ११ बजेदेखि बिहान ५ बजेसम्म काम संचालन हुनेछ। सडकमा निर्माण कार्य चलिरहँदा सडक बन्द रहने विभागले जनाएको छ।
सवारी आवागमन रोकिदा बुटवलतर्फ आउने सवारी साधनको लागि होङ्सी सिमेन्ट गेट-दुम्कीबास बजार र चोरमारा-अरुणखोला खण्डमा रोक्ने व्यवस्था गरिएको छ। नारायणघाटतर्फ जाने सवारी साधनलाई भने चिसापानी-वर्दघाट र ज्यामिरे-हकुई खण्डमा र्रोकिने छन् ।
यात्री र मालवाहक सवारी साधनलाई सवारी रोक्दा र चलाउँदा कडाईका साथ लेन अनुशासन कायम राख्न र लामबद्ध सवारीलाई जथाभावी ओभरटेक नगर्न अनुरोध गरिएको छ।
साथै, कालीगण्डकी करिडोरको गैडाकोट-राम्दी खण्डलाई वैकल्पिक मार्गको रूपमा प्रयोग गर्न सुझाव दिइएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology