देवदह । रुपन्देहीको देवदहमा अन्तरविद्यालय स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ। देवदह नगरपालिका–८ वडा कार्यालयको आयोजना र देवदह क्रिकेट युनिट तथा बुद्ध मावली क्रिकेट क्लबको व्यवस्थापनमा प्रतियोगिता सुरु गरिएको हो।
प्रतियोगिताको उद्घाटन गर्दै देवदह नगरपालिका नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले जुनसुकै खेललाई व्यावसायिक ढंगबाट विकास गर्नुपर्ने धारणा राखिन्। विद्यालय तहबाट खेलाडी उत्पादन गरेर त्यसको संरक्षण र प्रवर्द्धन गर्न सके मात्र दीर्घकालीन उपलब्धि हासिल गर्न सकिनेमा जोड दिंदै उनले नगरपालिकाले खेलकुदको विकासका लागि विभिन्न योजना अघि सारेको बताइन्।
“खेलले भविष्य उज्ज्वल बनाउन सक्छ, विद्यार्थीमा रहेको प्रतिभा प्रस्फुटन गर्ने माध्यम नै यस्ता प्रतियोगिता हुन्,” उनले भनिन्।
देवदह नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरि पाण्डेको अध्यक्ष रहेको कार्यक्रममा नगर शिक्षा समिति सदस्य कृष्णप्रसाद पौडेल, महामाया भवानी माविका प्रधानाध्यापक ऋषिश्वर अर्याल, देवदह माविका अध्यक्ष सुरज खरेल, वडासदस्य कुन्ता खाम्चा, देवदह क्रिकेट युनिटका अध्यक्ष रविवल्लभ रेग्मीले लगायतले बोल्दै यस्ता प्रतियोगिताले विद्यार्थीको आत्मविश्वास र क्षमताको विकासमा टेवा पुर्याउने धारणा राखेका थिए।
प्रतियोगितामा देवदह क्षेत्रका १२ वटा विद्यालयको सहभागिता रहेको छ।
विजेता टिमले नगद २० हजारसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले नगद १२ हजार, ट्रफी र मेडल प्राप्त गर्ने आयोजकको भनाइ छ।
उद्घाटन खेलमा महामाया भवानी मावि र खड्ग माविबीच प्रतिस्पर्धा भएको थियो, जसमा खड्ग मावि विजयी भयो। दोस्रो खेलमा प्रगति माविले केरवानी माविलाई पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको आयोजकले जनाएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology