देवदह । नेपाली कांग्रेसका पुराना नेता तथा प्रजातन्त्र सेनानी रुद्र प्रसाद पराजुलीको निधनले नेपाली कांग्रेस स्तब्ध भएको पार्टीले जनाएको छ । देवदह नगरपालिका–३, सूर्यपुराका स्थायी बासिन्दा पराजुलीको चैत्र १७ गते निधन भएको हो।
कांग्रेस रुपन्देही प्रतिनिधि सभा क्षेत्र नं. १ रूपन्देहीका सभापति हिराबहादुर खत्रीले वि. सं. २००२ साल माघ १५ गते जन्मिएका पराजुली नेपाली कांग्रेसको मूल्य, मान्यता र आदर्शमा अटल रहँदै राजनीतिक, सामाजिक, शैक्षिक र आध्यात्मिक क्षेत्रमा सक्रिय रहेको जनाएका छन् । “उहाँले पार्टी संगठन सुदृढीकरणदेखि लिएर स्थानीय विकास निर्माण र सामाजिक सद्भावका लागि पुर्याउनु भएको अतुलनीय योगदान सधैं स्मरणीय रहनेछ,” सभापति खत्रीद्वारा जारी शोक विज्ञप्तिमा उल्लेख छ।
पार्टी नेता पराजुलीको निधनमा सोमबार शोकसभा समेत गरेको छ । शोकसभामा नेपाली कांग्रेसका नेताहरु अब्दुल रज्जाक, रामकृष्ण खाण, मणिप्रसाद शर्मा, विश्वनाथ यादव, विजय गुरुङ, नविनराज आचार्य, गुनाखर भुर्तेल, थम बहादुर बुढाथोकी लगायतको उपस्थिति रहेको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology