काठमाडौं । संघीय राजधानी काठमाडौं विगत केही समयदेखि आन्दोलनमय भएको छ । निषेधित क्षेत्र तोकिएको छ । दिनहुँ प्रदर्शन र झडपका घटना भैरहेका छन् । राजावादीले केही दिन अघि गरेको आन्दोलनले थिलोथिलो बनेको काठमाडौंमा शिक्षक आन्दोलन जारी छ । आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल शिक्षक महासंघ र सहकारी तथा लघुवित्त पीडितहरूले आज काठमाडौंमा विभिन्न स्थानमा प्रदर्शन गर्दै छन्। बल्खुमा विरोध सभा गर्ने राप्रपाले प्रशासनबाट अनुमति लिइसकेको छ भने अन्य समूहहरूले आ–आफ्ना माग राख्दै बेग्लाबेग्लै स्थानमा प्रदर्शनको कार्यक्रम तय गरेका छन्।
विभिन्न स्थानबाट जुलुस निकालिने भएकाले काठमाडौंका मुख्य सडकहरूमा चाप बढ्ने देखिएको छ। त्यसैले सवारी आवागमन सहज बनाउन ट्राफिक प्रहरीले प्रमुख सडकहरूमा सवारी डाइभर्सनको व्यवस्था मिलाएको छ। खसीबजार हुँदै मकालु, कलंकी र बाफलतर्फको सडक, बल्खु, कुलेश्वर, कालीमाटी हुँदै टेकु जाने सडक, तथा कीर्तिपुर, सुन्दरीघाट, सानेपा हुँदै एकान्तकुना जाने सडकमा सवारी साधनलाई अन्यत्र डाइभर्ट गरिनेछ। यस्तै आवश्यकता परेमा त्रिपुरेश्वर, बालाजु, हलचोक, नैकाप, सीतापाइला, चोभार, फर्पिङ, नख्खु दोबाटो र कोटेश्वर क्षेत्रका सडकहरूमा पनि ट्राफिक व्यवस्थापन परिवर्तन गरिनेछ।
प्रदर्शनमा सहभागी हुन निजी वा सार्वजनिक सवारी साधन लिएर आउनेहरूका लागि ट्राफिक प्रहरीले पार्किङ स्थानसमेत तोकेको छ। टियू गेटदेखि चोभार सडक खण्ड, सानेपा करिडोरको दुबै साइड, चोभार सुख्खा बन्दरगाह, नयाँ बसपार्क र सीतापाइला–बाफल सडक खण्डको एक लेनमा पार्किङ गर्न सकिने व्यवस्था मिलाइएको छ।
शिक्षक महासंघले माइतीघर मण्डलामा भेला भएर बानेश्वर र माइतीघर सडक खण्डको बिच भागमा प्रदर्शन गर्नेछ भने सहकारी तथा लघुवित्त पीडितहरू शान्तिवाटिकामा कार्यक्रम गर्दै छन्। यस्ता आन्दोलनका कारण प्रभावित हुने सडक प्रयोग गर्ने सवारी चालकहरूलाई ट्राफिक प्रहरीले वैकल्पिक मार्ग रोज्न अनुरोध गरेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology