बुटवल । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) द्वारा संचालित 'तराई-मधेश हुलाकी मार्ग अभियान' बैशाख ३ गते रुपन्देही प्रवेश गर्ने भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सहितको अभियानको केन्द्रिय टोलीलाई रोहिणी गाउँपालिकाको धकधई चोकमा स्वागत गरिने रुपन्देही पार्टीले जनाएको छ ।
"२०८२ बैशाख ३ गते साँझ केन्द्रिय अभियान रुपन्देही प्रवेश गर्नेछ ।" पार्टीका जिल्ला संयोजक नारायण जिसी 'निर्मल'ले भने, "बैशाख ४ गते साँझसम्म पार्टी अध्यक्षसहितको टिम रुपन्देहीमा रहनेछ ।" अभियान अन्तरगत रुपन्देहीमा जनभेटघाट, कार्यकर्ता प्रशिक्षण, अन्तरक्रिया र जनसभा लगायतका कार्यक्रम हुनेछन् ।
पार्टी जिल्ला सचिव यादवका अनुसार बैशाख ३ गते साँझ रोहीणीमा स्वागत, ४ गते बिहान ५:३० देखि ८:३० सम्म मर्निङ्गवाक र चियापान, बिहान ९ देखि १० बजेसम्म विद्यार्थी र वाइसियललाई प्रशिक्षण, १० देखि ११:३० बजेसम्म उद्योग व्यापार संघ, बुद्धिजीवी र नागरिक समाजसंग अन्तरक्रिया र साँझ २ बजे कोटहीमाईको मझगावामा जनसभा गरी ५ बजे अभियान कपिलवस्तु जिल्लालाई हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ ।
कञ्चनपुरमा पुगेर समापन हुने हुलाकी मार्ग अभियानले पार्टीलाई जनतासंग एकाकार बनाउँदै २०६४ को स्थितिमा पुर्याउने लक्ष्य माओवादीले लिएको छ ।
फागुन १२ गते सोमबारबाट सुरु भएको माओवादी अभियान काठमाडौंमा राजावादी आन्दोलन बढेकोपछि बिचमै स्थगित गरी काठमाडौं केन्द्रित गरिएको थियो । चैत्र १५ गते राजावादीको आन्दोलनकै दिन माओवादी नेतृत्वमा समाजवादी मोर्चाले काठमाडौंमा जनसभा गरेको थियो । समाजवादी मोर्चाको जनप्रदर्शनले राजावादी आन्दोलनले थप क्षति गर्न नपाएको दावी माओवादीले गर्दै आएको छ । पार्टी अध्यक्ष प्रचण्डले समाजवादी मोर्चाको 'विशाल जनप्रदर्शन'ले 'राजावादीहरु अत्तालिएको' बताउँदै आएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology