देवदह । रुपन्देहीको देवदहमा वाथरोगका विरामीहरुको संख्या अत्यधिक रहेको एक सर्वेक्षणले देखाएको छ । नगरपालिका अन्तर्गत ३ स्थानमा भएको स्वास्थ्य परीक्षणका क्रममा उक्त तथ्यांक देखा परेको हो ।
देवदह नगरपालिकाको वडा नम्बर २, ७ र १२ मा गरिएको स्वास्थ्य परीक्षणमा ४० वर्ष माथिका ४ सय जना महिला तथा पुरुषको सहभागिता रहेको थियो । उनीहरु मध्ये १ सय १५ जनामा विभिन्न प्रकारका वाथरोगका लक्ष्यण देखिएको नेशनल वाथरोग सेन्टर बुटवलका व्यवस्थापक अविनाश पल्लीले बताए ।
उनले भने, 'स्वास्थ्य परीक्षणमा सहभागी भएका मध्ये झण्डै २७ प्रतिशतमा वाथरोगको लक्षण देखिनुले यसका विरामीहरु थप हुन सक्ने जोखिम रहेको छ ।'
वाथरोगबाट जुनसुकै उमेर समुहका मानिसहरु प्रभावित हुने र समयमै यसको पहिचान गर्न सकिएमा रोगबाट बच्न सकिनेसमेत पल्लीले बताए ।
देवदहमा यशोधरा भिक्षुणी विहार, देवदह-७, शितलनगर, वडा नम्बर २ र १२ को वडा समिति तथा स्वास्थ्य सेवा केन्द्रको व्यवस्थापनमा ३ स्थानमा स्वास्थ्य परीक्षण गरिएको थियो ।
नसर्ने रोग मध्ये वाथ रोग पनि जटिल रोग भएकोले यस रोगको निवारणका निम्ति जनचेतनाको आवश्यकता रहेको नेशनल वाथरोग सेन्टर काठमाडौकी वाथरोग विशेषज्ञ डा. स्वीकृति श्रेष्ठले बताईन् । डा. श्रेष्ठले भनिन्, 'समयमै रोगको पहिचान गरि उपचार गरिएमा शारीरिक जटिलता कम हुने र मुटु, मृगौला जस्ता आन्तरिक अंगहरु जोगाउन सकिन्छ ।'
वाथरोगका विरामीहरुले लामो समयसम्म औषधि सेवन गर्नु पर्ने भएकाले राज्यले यस रोगका विरामीहरुका लागि उपचारको व्यवस्था गरि दिनु पर्ने डा. श्रेष्ठले बताईन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology