देवदह । रुपन्देहीको देवदहमा एकीकृत स्क्रिनिङ शिविर सम्पन्न भएको छ । वडा नं ७ स्थित शीतलनगर आधारभूत स्वास्थ्य केन्द्रमा सम्पन्न शिविरमा १५७ जनाले सेवा लिएका छन् ।
देवदह नगरपालिका स्वास्थ्य शाखाद्वारा संचालित शिविरमा प्रजनन रुग्णता, पाठेघरको मुखको क्यान्सर, फिस्टुला, आङ खस्ने समस्या र स्तन क्यान्सर सम्बन्धि स्क्रिनिङ गरिएको थियो ।
स्क्रिनिङमा पाँच जनामा भिआईए पोजेटिभ, १५ जनामा आङ खस्ने समस्या, ११ जनामा पाठेघरमा सिस्ट र पलिफ तथा अन्यमा सामान्य समस्या देखिएको स्वास्थ्य केन्द्रका प्रमुख हेमलाल कुँवरले जानकारी दिए ।
शिविरमा देवदह मेडिकल कलेजमा स्त्रीरोग विशेषज्ञ डा. अरूणा पोख्रेल, नेपाल परिवार नियोजन संघ बुटवलका वरिष्ठ नर्सिङ अधिकृत विष्णु गुरूङ लगायतले स्वास्थ्य परिक्षणसंगै स्वास्थ्य शिक्षा गरेका प्रदान गरेका थिए ।
कार्यवाहक वडा अध्यक्ष रमेश खरेल अध्यक्षता रहेको कार्यक्रममा देवदह नगरपालिकाका नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ, नगर स्वास्थ्य शाखा प्रमुख काशिनाथ बन्जाडे, नर्सिङ अधिकृत माया पुन, सहरी स्वास्थ्य सेवा केन्द्र भवानीपुरका वरिष्ठ अनमी निरू श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
दिगो विकास लक्ष्य अन्तरगत नेपाल सरकारले सन २०३० सम्म पाठेघरको क्यान्सर निवारण गर्ने लक्ष्य लिएको छ । सोही बमोजिम किशोरीलाई पाठेघरको क्यान्सर विरुद्धको खोप दिने र अन्यको स्वास्थ्य परीक्षण गर्ने सरकारी नीति रहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology