काठमाडौं । भर्खरै ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पले थिलथिलो पारेको म्यानमारलाई नेपाल सरकारले करिब २७ टन राहत सामग्री सहयोग गर्ने तयारी गरेको छ । आज राति विशेष चार्टर्ड फ्लाइटमार्फत नेपाली प्रतिनिधिमण्डल त्यहाँ जान लागेको हो ।
म्यानमारमा गएको शुक्रवारको भूकम्पबाट ३ हजारभन्दा बढीको ज्यान गएको पुष्टि भएको छ । ठूलो जनधनको क्षति भएको म्यानमारले अन्तर्राष्ट्रिय सहयोगको याचना गरिरहेकै बेला नेपाल सरकारले मानवीय सहायताको सन्देश दिन लागेको हो ।
परराष्ट्रमन्त्री डा. आरजु राणाका अनुसार, नेपालस्थित म्यानमार दूतावासको समन्वयमा आवश्यक सामग्रीको सूची माग गरिएको थियो । सूचीअनुसार खाद्यान्न, औषधि, ब्लड ट्रान्सफ्युजन सेट, टेन्ट, भाँडाकुँडा र मेडिकल टिम समावेश गरेर राहत सामग्री तयार पारिएको छ ।
यसअघि नै नेपाली सेनाको इमर्जेन्सी मेडिकल टिम म्यानमार पुगिसकेको छ । अब थप सामग्रीसहितको टोली सरकारी संयोजनमा जान लागेको हो । मन्त्री राणाको भनाइमा, “राजदूतावासमार्फत सम्पर्क गरेर मागिएको सामग्री पठाउन लागिएको हो । निजी क्षेत्र र सरकार मिलेर करिब २७ टन सामग्री जम्मा भएको छ ।”
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भूकम्पपीडित म्यानमारप्रति नेपालले सहानुभूति प्रकट गरेको बताए । उनले भने, “२०७२ सालको भूकम्पमा म्यानमारले नेपाललाई सहयोग गरेको थियो । अहिले हामी त्यही मित्रताको प्रत्युत्तर दिँदैछौँ ।”
करिब १ करोड ४० लाख रुपैयाँ बराबरको सामग्री सरकारी मौज्दात, निजी क्षेत्रको सहयोग र उद्योगकारको समन्वयबाट संकलन गरिएको हो । एफएनसीसीआई, सीएनआई, औषधि उद्योग र चाउचाउ उत्पादक फर्महरूबाट सहयोग जुटाइएको मन्त्रालयको भनाइ छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology