काठमाडौं । तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहको भूमिका रहेको भन्दै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले उनलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने धारणा राखेका छन्। शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै बर्तौलाले फागुन ७ गते शाहले सार्वजनिक गरेको वक्तव्यपछि आन्दोलनको सुरवात भएको दाबी गरे।
उनले पूर्वराजाको अपिलबाट उत्साहित भएर हिंसात्मक गतिविधि भएको बताए ।
बर्तौलाले भने, “१५ गतेको घटना नेपालको इतिहासमा अत्यन्त क्रूर रूपमा दर्ज भएको छ। पत्रकारमाथि आक्रमण भएको, सरकारी र निजी सम्पत्ति जलाइएको, लुटपाट गरिएको, मान्छे हत्या गरिएको दृश्य देखियो। यस्तो घटना कुनै स्वस्फूर्त आन्दोलन थिएन, यो योजनाबद्ध रूपमा गरिएको देखिन्छ।”
उनको दाबी अनुसार, प्रहरीले ठूलो संयमता देखाएको र त्यसकै कारण अझ ठूलो क्षति हुनबाट देश जोगिएको हो। “प्रहरीमाथि ढुंगा, इँटाले निर्मम आक्रमण गरियो। गाडी प्रहरीलाई ठक्कर दिने उद्देश्यले चलाइयो। यस्तोमा प्रहरीले जवाफी कारबाही नगरेर संयमित व्यवहार देखायो,” उनले भने।
पूर्वराजाको वक्तव्यपछिको घटनाक्रमसँग जोड्दै उनले थपे, “त्यो दिनको अपिलपछि उत्पन्न आन्दोलनमा पूर्वराजा कतै न कतै संलग्न भएको आशंका हुन्छ। उहाँले अहिलेसम्म कुनै समवेदना प्रकट गर्नुभएको छैन। न त मृतकप्रति श्रद्धाञ्जली, न पीडितप्रति सहानुभूति। यस्तो मौनता गम्भीर संकेत हो।”
बर्तौलाले यस्तो संवेदनशील क्षेत्रमा आन्दोलन गर्न दिने निर्णयमै पुनर्विचार गर्नुपर्ने बताए। दोषी जो कोही भए पनि उन्मुक्ति दिन नहुने उनको जोड थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology