एजेन्सी । टर्कीका विदेशमन्त्री हाकान फिदान र उनका रुसी समकक्षी सर्गेई लाभरोभबीच युक्रेन द्वन्द्व र कालो सागरको नेभिगेसन सुरक्षाबारे महत्वपूर्ण छलफल भएको छ। टर्कीको अन्टाल्या शहरमा आयोजित अन्टाल्या कुटनीति मञ्चको अवसरमा भएको यो भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, विशेषगरी ऊर्जा क्षेत्रमा सहयोग विस्तारबारे पनि कुराकानी भएको अर्ध–आधिकारिक अनाडोलु एजेन्सीले जनाएको छ।
छलफलमा कालो सागरमा बढ्दो क्षेत्रीय तनावको पृष्ठभूमिमा सुरक्षित नेभिगेसनको सवाल मुख्य एजेन्डा बनेको थियो। साथै, युक्रेन–रूस युद्ध अन्त्य गर्ने सम्भावित उपायहरूबारे विचार आदानप्रदान भएको जनाइएको छ।
गत महिनाको अन्त्यमा क्रेमलिनले मस्को र कीभबीचको मध्यस्थकर्ता टर्की र संयुक्त राष्ट्रसंघले ब्ल्याक सी ग्रेन इनिसिएटिभ कार्यान्वयन गर्न पहल थालेको बताएको थियो। सन् २०२२ को जुलाईमा टर्की र संयुक्त राष्ट्रसंघको संयोजनमा रुस र युक्रेनले ब्ल्याक सी ग्रेन इनिसिएटिभमा हस्ताक्षर गरेका थिए, जसले युक्रेनी अन्न तथा कृषि उत्पादनहरूलाई सुरक्षित रूपमा निर्यात गर्न सकिने बाटो खुलेको थियो। त्यसै समय, रुस र संयुक्त राष्ट्रसंघबीच रुसी खाद्यान्न र मलको निर्यात सहज बनाउन समझदारी पनि भएको थियो।
तर, जुलाई १७, २०२३ मा रुसले आफूप्रति गरिएको प्रतिबद्धता नपुगेको भन्दै सो सम्झौताबाट आफ्नो सहभागिता निलम्बन गरेको थियो। पछिल्ला वार्ताहरूले सो समझौता पुनः सक्रिय हुने सम्भावनातर्फ संकेत गरेको देखिन्छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology