देवदह । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरू आज १३औं दिन पनि माईतीघरमा उभिएका छन्। गत चैत २० गतेदेखि सुरु भएको आन्दोलन दुई पटकको वार्ता पछि पनि निष्कर्षविहीन रहँदा थप तिव्र बन्दै गएको छ।
नेपाल शिक्षक महासंघको नेतृत्वमा जारी आन्दोलनको पहिलो एक साता शान्तिपूर्ण ढंगले अघि बढ्दा पनि सरकारले चासो नदेखाएको भन्दै चैत २६ गतेदेखि शैक्षिक हड्ताल सुरु गरिएको हो। शिक्षकहरूको भनाइ छ—'सरकारले विगतमा गरेका सहमति कार्यान्वयन नगरेपछि बाध्य भएर पुनः सडकमा आउनु परेको हो।'
गत वर्ष पनि यिनै मागसहित आन्दोलन गरिएको थियो। त्यसपश्चात २०८० साल चैत २० गते सरकारसँग सहमति भएको थियो। तर, एक वर्ष बित्दा पनि कार्यान्वयनको कुनै संकेत नआएको भन्दै उनीहरू आक्रोशित छन्।
सरकारले शिक्षालाई बेवास्ता गरिरहेको आरोप शिक्षकहरूको छ। लाखौं शिक्षक सडकमा उत्रँदा पनि सरकार गम्भीर नबनेको उनीहरूको ठम्याइ छ। अब संसदको नियमित अधिवेशन, विशेष अधिवेशन वा अध्यादेशमार्फत मात्र विद्यालय शिक्षा ऐन जारी गर्न सकिने नेपाल शिक्षक महासंघको निष्कर्ष छ।
शिक्षकहरूको आन्दोलनले हालसम्म पठनपाठनमा खासै असर नपरे पनि अब भने प्रत्यक्ष प्रभाव देखिन थालेको छ। वैशाख २ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुँदैछ। सो दिनदेखि देशभरका विद्यालयहरूमा नयाँ विद्यार्थी भर्ना तथा घरदैलो अभियान सुरु हुनुपर्ने कार्यतालिका छ। यस्तो अवस्थामा आन्दोलन लम्बिँदा विद्यार्थी, अभिभावक र सम्पूर्ण शैक्षिक समुदायमा अन्योल छ।
अब सरकारमाथि पनि दबाब छ—माग सम्बोधन गरेर आन्दोलन रोक्नुपर्ने, र शिक्षकमाथि पनि दबाब छ—विद्यालय फर्कनुपर्ने। तर माग सम्बोधन बिना शैक्षिक हड्ताल फिर्ता लिने सम्भावना तत्काल देखिएको छैन।
शान्तिपूर्ण आन्दोलनले चासो नपाएको भन्दै महासंघले कडा आन्दोलनको चेतावनी दिइसकेको छ। अब आन्दोलन कहाँ पुग्छ, त्यसको उत्तर सरकारको निर्णयले दिनेछ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology