काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विचौलियाहरूको प्रभाव प्रधानमन्त्रीको शयनकक्षसम्म पुग्ने गरेको बताएका छन्। मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले निजी क्षेत्र र विचौलियालाई फरक पहिचान दिनुपर्ने औंल्याए।
उनले अहिलेको आर्थिक सङ्कटको मूल जड विचौलिया रहेको दाबी गरे। 'प्राइभेट सेक्टर र विचौलिया भनेको फरक कुरा हो,' उनले भने, 'हाम्रो इकोनोमिमा अहिले समस्या भएको भनेको विचौलियाको कारणले हो। म यो प्रधानमन्त्री, त्यो प्रधानमन्त्री भन्दिनँ, तर विचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो।'
उनले अतीतको उदाहरण दिँदै राष्ट्र बैंकको गभर्नरको नियुक्तिमा पहिले कसले गभर्नर बन्ला भन्ने सामान्य कौतूहल हुने गरेको बताउँदै अहिले भने 'विचौलियाको क्यान्डिडेट' भनेर खुलेआम बहस हुने अवस्था आएकोमा चिन्ता व्यक्त गरे।
थापाले नेताहरूले आफन्त र आसेपासेलाई पोस्ने व्यवस्था पुँजीवाद नभएको पनि स्पष्ट पारे। 'नागरिक बलियो भएमात्रै राज्य बलियो हुन्छ,' भन्दै उनले नागरिकको सशक्तिकरणमा जोड दिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology