एजेन्सी । यमनको राजधानी सानाको पश्चिमी इलाकामा अमेरिकी हवाई आक्रमण हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ भने १३ जना घाइते भएका छन्। हुथी विद्रोहीद्वारा सञ्चालित स्वास्थ्य अधिकारीहरूले बानी मतार जिल्लाको सिरेमिक कारखानामा आक्रमण हुँदा स्थानीय बासिन्दा मारिएको जानकारी दिएका छन्।
हवाई आक्रमण अघि र पछि सानाभर लडाकु विमानको गर्जन सुनिएको बताइएको छ। हुथी विद्रोहीको नियन्त्रणमा रहेको अल–मसिराह टेलिभिजनले अमेरिकाले उत्तरी प्रान्त मारिब र अल–जौफमा पनि दुई थप आक्रमण गरेको जनाएको छ। रिपोर्टअनुसार सोमबार उत्तरी यमनमा मात्र अमेरिकी युद्धक विमानले २५ पटक आक्रमण गरेका छन्।
सन् २०२३ नोभेम्बरयता हुथी विद्रोहीहरू गाजामा इजरायली आक्रमणको विरोधमा इजरायली स्वार्थका विरुद्ध कारबाही गरिरहेका छन्। उनीहरूले युद्ध रोकिएमा र गाजामा राहत सामग्री सहजै प्रवेश गरिएमा आक्रमण बन्द गर्ने दाबी गर्दै आएका छन्। यमनको ठूलो भू–भाग नियन्त्रणमा लिएका हुथी समूहलाई इरानको समर्थन रहेको मानिन्छ भने उनीहरू हाल अमेरिका र पश्चिमी शक्तिहरूसँग प्रत्यक्ष भिडन्तको स्थितिमा छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology