काठमाडौं । सरकार बनेको ९ महिना पुग्न लाग्दा साझेदार दलभित्रैबाट असन्तुष्टीको स्वर चर्किदै गएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारप्रति नेपाली काँग्रेस खासगरी महामन्त्री गगनकुमार थापा खुलेरै आक्रोशित छन्। तर, पार्टी सभापति शेरबहादुर देउवा भने मौन छन्। थापा सरकार सञ्चालनका लागि बनाइएको संयन्त्रकै सदस्य हुन्। तर, उनका असन्तुष्टिपूर्ण भनाइलाई देउवाले बारम्बार बेवास्ता गरिरहेका छन्।
एमाले र काँग्रेसबीच संविधान संशोधन लगायतका सात बुँदामा सहमति गरेर सरकार बनेको हो। तर, काँग्रेसभित्र सरकारको कामप्रति सन्तुष्टी छैन। थापाले सरकारको कार्यशैलीमाथि निरन्तर प्रश्न उठाउँदै आएका छन्। मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सरकार जनअपेक्षा अनुसार नचलेको भन्दै आलोचना गरे। विकास निर्माणमा गति छैन, संविधानमा परिकल्पना गरिएको परिवर्तनमा प्रयास छैन भन्ने उनको तर्क छ।
थापाले प्रधानमन्त्री ओलीसम्म नै विचौलियाहरूको प्रभाव पुगेको आरोप लगाए। निजी क्षेत्र र विचौलियाबीच छुट्याउनुपर्ने भन्दै उनले विचौलियाको पहुँच शयनकक्षसम्म पुगेको बताए। त्यही कारण अर्थतन्त्र बिग्रिएको उनी ठोकुवा गर्छन्।
चैत २८ गतेको अर्को कार्यक्रममा उनले सरकारको आफ्नै संयन्त्रका निर्णयसमेत पालना नगरेको गुनासो गरे। “बिँड तातेर केही नहुँदो रहेछ, ताप्के पनि तात्नुपर्ने रहेछ,” भन्दै उनले सरकारलाई हिलो छ्यापे। कुलमान घिसिङलाई हटाउने निर्णयदेखि ओलीको उद्घाटन मोहसम्मका कामप्रति उनको आलोचना उस्तै छ। राजधानीमा शिक्षकहरू आन्दोलित हुँदा पनि सरकारले चासो नदिएको भन्दै उनी थप असन्तुष्ट छन्।
गगन थापालाई नेपाली राजनीतिमा काम गर्ने हुटहुटी भएको युवा नेताका रूपमा हेरिन्छ। तर, पार्टीमा देउवाको प्रभाव र आफूलाई काम गर्न नदिएको अनुभव उनलाई छ। उनले देश चलाउने जिम्मा पाए अहिलेका प्रधानमन्त्रीभन्दा राम्रोसँग काम गरेर देखाउने दाबी गरेका छन्। भक्तपुरमा आयोजित कार्यक्रममा उनले युवा पुस्ताबाट प्रधानमन्त्री बन्नेहरूको काम बढी प्रभावकारी हुने जिकिर गरे। अहिले प्रधानमन्त्रीमा नियुक्त भए पनि आफूले राम्रो काम गरेर देखाउने उनी बताउँछन्।
भ्रष्टाचारका काण्डहरूको छानबिन गर्न विशेष आयोग गठन गर्नुपर्ने उनको माग छ। “जनताले सुनेका सबै भ्रष्टाचार छानबिन गरिनुपर्छ, दोषीलाई शक्तिशाली भनेर छोड्न मिल्दैन,” भन्ने उनको अडान हो। २०८४ भित्रमा भ्रष्टाचारमुक्त समाज बनाउने लक्ष्य उनले राखेका छन्।
सरकारको कतिपय कामको विपक्षमा खुलेर बोल्दै आएका थापा कहिलेकाहीं सरकारको प्रतिरक्षामा पनि उत्रिएका छन्। उनी सरकार राम्रो गरोस् भन्ने चाहना राख्छन्। तर, सभापति देउवा भने प्रधानमन्त्री ओलीलाई सशक्त साथ दिइरहेका छन्। आफू र ओली जेलमा सँगै बसेको सम्बन्ध भन्दै देउवाले सरकारलाई ढाडस दिने काम गरेका छन्।
थापा र देउवाबीचको यस्तै फरक सोचले काँग्रेसभित्र सरकारप्रति स्पष्ट मत एकरूप छैन। देउवा सन्तुष्ट छन्, थापा असन्तुष्ट छन्। तर, थापाको आक्रोश भाषणमै सीमित हुँदा ओली नेतृत्वको सरकारलाई खास असर परेको छैन। देशमा बेरोजगारी, विदेश पलायन र आर्थिक संकट बढिरहेको बेलामा सरकारको निष्क्रियताले थापा झन् आक्रोशित बनेका छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology