बुटवल । लुम्बिनी प्रदेशमा नयाँ शैक्षिक सत्र २०८२ का लागि विद्यालय भर्ना अभियान चलिरहेको छ। ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने नारासहित सुरु गरिएको यो अभियानलाई प्रभावकारी बनाउन मुख्यमन्त्री चेतनारायण आचार्यले अपिल गरेका छन्।
मुख्यमन्त्री आचार्यले शिक्षा सबै बालबालिकाको मौलिक हक भएको भन्दै कोही पनि बालबालिका विद्यालयबाहिर नरहोस् भन्ने उद्देश्यले स्थानीय तह, अभिभावक, शिक्षक र सरोकारवाला सबैलाई अभियानमा सक्रिय हुन निर्देशन दिएका छन्। उनका अनुसार, विद्यालयबाहिर रहेका बालबालिकालाई अनिवार्य रूपमा विद्यालयमा भर्ना गर्नु अबको प्रमुख कार्यभार हो।
कक्षा ८ सम्म निःशुल्क र अनिवार्य शिक्षा व्यवस्था भए पनि अझै पनि पूर्ण भर्ना सुनिश्चित हुन सकेको छैन। अघिल्लो शैक्षिक वर्षको तथ्यांकले प्रारम्भिक बालविकास शिक्षामा कुल भर्ना दर ९९.९ प्रतिशत देखाए पनि खुद भर्ना दर ७०.६ प्रतिशतमा सीमित छ। कक्षा १ मा खुद भर्ना दर ९५.७ प्रतिशत रहेको छ भने आधारभूत तहमा ९५.२ प्रतिशत, माध्यमिक तह (कक्षा ९–१०) मा ७६.५ प्रतिशत र उच्च माध्यमिक तह (कक्षा ११–१२) मा ३७.१ प्रतिशत मात्र छ। माध्यमिक तह (९–१२) मा समग्र खुद भर्ना दर ५७.९ प्रतिशतमा सीमित रहेको तथ्यांकले देखाएको छ।
मुख्यमन्त्रीले कुनै पनि बालबालिका विद्यालयबाहिर नपरोस् भन्ने संकल्पसहित अभियानलाई सफल बनाउन सबै तह र पक्षको एकढिक्का प्रयास अपरिहार्य रहेको बताएका छन्। भर्ना दरलाई मात्र हैन, गुणस्तरीय शिक्षाप्राप्तिलाई पनि सुनिश्चित गर्नुपर्ने उनको जोड छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology