बुटवल । ‘जनतासँग माओवादी : तराई–मधेश हुलाकी मार्ग जागरण अभियान’ अन्तर्गत नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको केन्द्रीय टोली रुपन्देही जिल्ला प्रवेश गरेको छ । जिल्लाको रोहिणी गाउँपालिका–४, धकधईमा प्रचण्ड सहितको टोलीलाई माओवादी नेता कार्यकर्ताले स्वागत गरे ।
नवलपरासी पश्चिमबाट रुपन्देही प्रवेश गरेको टोलीलाई फूलमाला, बाजागाजा र नाराजुलुससहित स्थानीय नेता, कार्यकर्ता र शुभेच्छुकहरूले स्वागत गरेका थिए। स्वागतप्रति खुसी व्यक्त गर्दै प्रचण्डले धन्यवाद दिएका छन्।
धकधईमा आयोजित कार्यक्रममा प्रचण्डले तराई–मधेशको समृद्धि र विकासमा जोड दिँदै हुलाकी मार्गजस्ता पूर्वाधार योजनाहरूले जनताको आशा फेरि जागेको बताएका छन्। “हाम्रो अभियान उपदेश होइन, जनताको वास्तविक पीडा र आशा बुझ्ने अभियान हो,” उनले भने। उनले स्थानीय आत्मनिर्भर अर्थतन्त्रमा आधारित विकास मोडलको पक्षमा उभिँएर समावेशी, सन्तुलित र दिगो विकासको लागि काम गर्नुपर्ने उनले बताए ।
बिहीबारका लागि प्रचण्ड नेतृत्वको टोलीको कार्यक्रम पार्टीले सार्वजनिक गरेको छ । जसअनुसार बिहान ५:३० देखि ८:३० बजेसम्म भैरहवाको मिलनचोकदेखि बुद्धचोकसम्म मर्निङ वाक र जनसंवाद, बिहान ९:०० पत्रकार सम्मेलन, १०:०० बजे होटल पौवामा युवा, विद्यार्थी र वाइसिएलका लागि प्रशिक्षण कार्यक्रम – बिहान ११:०० देखि १२:०० बजेसम्म बुद्धिजीवी, व्यवसायी र नागरिक समाजसँग अन्तरक्रिया, १२:०० बजे शहीद परिवारसँग भेटघाट र सामूहिक भोजन र दिउँसो २:०० बजे मर्चवार मझगावामा आमसभालाई सम्बोधन लगायतका कार्यक्रम रहेका छन्। दिउँसो ४:०० बजे अभियानको जिम्मा कपिलवस्तु जिल्ला समितिलाई हस्तान्तरण कार्यक्रम रहेको पार्टी जिल्ला संयोजक नारायण जिसी 'निर्मल' ले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology