एजेन्सी । आर्थिक वर्ष २०२४ मा जापानले करिब ५.२३ ट्रिलियन येन, अर्थात् ३६ अर्ब ६० करोड अमेरिकी डलर बराबरको व्यापार घाटा व्यहोरेको छ। यो पछिल्ला चार वर्षदेखि निरन्तर दोहोरिएको घाटा हो।
सरकारी तथ्याङ्कअनुसार मार्चमा समाप्त भएको सो वर्षमा देशको निर्यात ५.९ प्रतिशतले वृद्धि भएर १०८.९३ ट्रिलियन येन पुगेको छ। सन् १९७९ मा तुलनात्मक तथ्याङ्क संकलन सुरु भएयता यो अहिलेसम्मकै उच्च स्तर हो। उता आयात पनि ४.७ प्रतिशतले बढ्दै ११४.१६ ट्रिलियन येन पुगेको छ। व्यक्तिगत कम्प्युटरका कारण अमेरिका र स्मार्टफोनका कारण चीनबाट आयात बढेको जनाइएको छ।
चीनसँगको व्यापारमा जापानको घाटा झनै बढेको देखिन्छ। अघिल्लो वर्षको तुलनामा १८.७ प्रतिशतले बढ्दै यो घाटा ७.०५ ट्रिलियन येन पुगेको हो। चीनतर्फ निर्यात ३.४ प्रतिशतले बढेर १८.८९ ट्रिलियन येनमा पुगेको छ भने आयात ७.१ प्रतिशतले वृद्धि भएर २५.९४ ट्रिलियन येन भएको छ।
संयुक्त राज्य अमेरिकासँगको व्यापारमा भने जापानले अधिशेष कायम राखे पनि अघिल्लो वर्षको तुलनामा त्यो १.३ प्रतिशतले घटेर ९.०१ ट्रिलियन येनमा झरेको छ। निर्यात ३.८ प्रतिशतले बढ्दै २१.६५ ट्रिलियन येन पुगेको छ भने आयात ७.७ प्रतिशतले बढेर १२.६४ ट्रिलियन येन पुगेको तथ्याङ्क छ।
युरोपेली संघसँगको व्यापारमा जापान १३ वर्षदेखि लगातार घाटामा रहेको तथ्य पनि बाहिर आएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology