काठमाडौं । सम्पदाको संरक्षणका पक्षमा जनचेतना जगाउँदै आज काठमाडौंमा विश्व सम्पदा दिवस मनाइएको छ। स्वयम्भूनाथदेखि वसन्तपुरसम्म सम्पदा पदयात्रा गरेर दिवस मनाइएको हो।
संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था युनेस्कोले सूचीमा राखेका क्षेत्रहरूको संरक्षणको सन्देशसहित हरेक वर्ष अप्रिल १८ का दिन यो दिवस मनाइन्छ। सन् १९८३ देखि सुरु गरिएको दिवसले सांस्कृतिक र प्राकृतिक सम्पदाको संवर्द्धनमा जोड दिँदै आएको छ।
नेपालबाट युनेस्कोको विश्व सम्पदा सूचीमा काठमाडौं उपत्यकाभित्र पर्ने वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्र, स्वयम्भू, बौद्ध, पशुपतिनाथ र चाँगुनारायण मन्दिर, लुम्बिनी क्षेत्र, चितवन राष्ट्रिय निकुञ्ज र सगरमाथा राष्ट्रिय निकुञ्ज सूचीकृत छन्।
सम्पदा पदयात्रामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डे सहभागी थिए। उनका साथमा विभिन्न सांस्कृतिक संस्थाका प्रतिनिधिहरू र संस्कृतिकर्मीहरू पनि सहभागी भएका थिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology