काठमाडौं । संघीय निजामती सेवा ऐन तत्काल ल्याउन माग गर्दै निजामती कर्मचारी सङ्गठनहरूको संयुक्त ट्रेड युनियनले ११ बुँदे ज्ञापनपत्र बुझाएको छ।
शुक्रवार सिंहदरबारमा आयोजित कार्यक्रममा उनीहरूले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई ज्ञापनपत्र बुझाएका हुन्। कर्मचारीका आधारभूत मागहरू सम्बोधन गर्नुपर्ने र संघीय संरचनाअनुकूल ऐन तत्काल आवश्यक भएको उल्लेख गरिएको छ।
ज्ञापनपत्र बुझ्दै सभापति खतिवडाले राज्यको स्रोत र साधनले भ्याएसम्म कर्मचारीहरूका सुविधाहरू व्यवस्थित गर्नेगरी कानून ल्याइने प्रतिवद्धता व्यक्त गरे। संविधान निर्माणमा कर्मचारीहरूको उल्लेखनीय भूमिका रहेको भन्दै उनले अहिलेको व्यवस्थाको संरक्षणमा पनि उनीहरूको भूमिकालाई अझै महत्वपूर्ण हुने बताए।
सभापति खतिवडाले भने, “निजामती कर्मचारीहरू राज्यको स्रोत र साधनले भ्याएसम्म सुविधाहरू व्यवस्थित गर्ने गरी कानून ल्याइने प्रतिवद्धता जाहेर गर्न चाहन्छु। संविधान निर्माणमा तपाईंहरूको जे भूमिका थियो, त्यसको संरक्षणमा पनि तपाईंहरूको भूमिका रहन्छ भन्ने विश्वास लिएको छु।”
ज्ञापनपत्रमा राष्ट्रिय स्तरका ट्रेड युनियनको व्यवस्था गरिनुपर्ने, आधिकारिक ट्रेड युनियन प्रणालीको सम्मान हुनुपर्ने र विभिन्न सेवा–सुविधा विधेयकमा समावेश गर्नुपर्ने माग राखिएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology