काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले वैदेशिक रोजगारी क्षेत्रमा देखिएका समस्याको समाधानका लागि ‘मिसन रोजगारी’ नामक राष्ट्रिय अभियान सुरु गरिएको बताएका छन् । शुक्रवार काठमाडौंमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनको कार्यक्रममा बोल्दै थापाले काँग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग मिलेर अभियान सञ्चालन गरिएको जानकारी दिए ।
उनका अनुसार वैदेशिक रोजगारीलाई गाली र तिरस्कारको विषय होइन, विश्लेषण र समाधान खोजिने विषय बनाइनुपर्छ भन्ने सोच अभियानको मूल मर्म हो ।
थापाले भने, “यो अभियान एक महिना अघिदेखि सुरु भएको हो । हाम्रो एउटा टिमले काम गरिरहेको छ, विश्वविद्यालय र शैक्षिक संस्थाहरूसँग साझेदारी भइरहेको छ, अब हामी एशोसिएशनसँग पनि सहकार्य गर्न चाहन्छौं । वैदेशिक रोजगारीमा कस्ता मानिस गएका छन्, किन गएका छन्, के समस्याहरू छन् भन्ने विषयमा ज्ञान उत्पादन गरेर समाधानको बाटो खोज्नुपर्छ ।”
उनले काँग्रेस अब समस्यामाथि गुनासो मात्र गर्ने होइन, समाधान दिने पार्टी बन्नुपर्ने बताएका छन् । निजी क्षेत्रसँग सहकार्य गरेर रोजगारी समस्या समाधान गर्न काँग्रेस तयार रहेको उनको भनाइ थियो ।
थापाका अनुसार पार्टीको कार्यशैली र दृष्टिकोण परिवर्तन आवश्यक भइसकेको छ । “अब हामीले गनगन गर्ने पनि होइन, रुवाबासी गर्ने पनि होइन । अब समस्या भएको ठाउँमा काँग्रेस पुगेको छ र समाधान दिन्छ भन्ने विश्वास दिलाउनुपर्ने समय आएको छ,” उनले भने ।
काँग्रेसले आन्तरिक तथा वैदेशिक रोजगारीबारे गम्भीर चिन्तन गरिरहेको र चाँडै ठोस समाधानसहित प्रस्तुत हुने थापाले विश्वास व्यक्त गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology