काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले समाजवादको भ्रुण नेवार समुदायको इतिहास, भाषा, संस्कृति र उत्पादन प्रणालीमा रहेको दाबी गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेवार समुदायका गुठी जस्ता संरचनाहरू नेपाली विशेषताको समाजवादी अवधारणासँग मेल खाने बताए। आदिवासी जनजातिहरूमध्ये नेवार समुदाय अग्रणी भएको उल्लेख गर्दै प्रचण्डले भने, “समाजवादको भ्रुण नेवार समुदायको इतिहासमा, उनीहरूको भाषा, संस्कृतिमा, उत्पादन सम्बन्धमा र गुठीजस्ता संस्थागत संरचनाहरूमा छ। त्यहीँबाट नेपाली विशेषताको समाजवादको यात्रा सुरु हुन्छ।”
उनले पार्टीभित्र पनि यस्ता मूल्य र संरचनाबारे अध्ययन गर्न निर्देशन दिएको बताए। “मैले यो सम्मेलनलाई विशेष सुरुवातका रूपमा लिएको छु,” उनले भने।
कार्यक्रममा बोल्दै प्रचण्डले सरकारका गलत गतिविधिको फाइदा उठाएर 'धमिलो पानीमा माछा मार्न' खोज्ने प्रयास सफल नहुने बताए। नेवार समुदायको सम्मेलनले गलत कार्यप्रति खबरदारी गर्न र प्रतिगामी षड्यन्त्रको सामना गर्नुपर्ने उनले बताए।
दाहालले आफूले नेवार समुदायका हकहितका लागि थुप्रै काम गरिसकेको उल्लेख गर्दै संस्कृति, भाषा, इतिहास, आत्मनिर्णय र पहिचान पूर्ण स्थापित नभएसम्म माओवादी केन्द्रले साथ नछोड्ने दाबी गरे।
उनको भनाइमा, "यथास्थितिवाद र प्रतिगामी षड्यन्त्रको विरुद्ध फेरि एक पटक उत्पीडित वर्ग, जाति र समुदाय अगाडि बढ्नुपर्छ, त्यसका लागि माओवादीले देशको नेतृत्व गर्न आवश्यक छ।”
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology