काठमाडौं । राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले आगामी २०८२ सालको जेठ १५ गते गणतन्त्रको अन्त्य हुने दाबी गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित "पृथ्वीपथको आवश्यकता: प्रबुद्ध वर्गको सोच" विषयक कार्यक्रममा बोल्दै उनले गणतन्त्र सुरु भएको मिति नै त्यसको अन्त्यको मिति पनि हुने जिकिर गरे। "गणतन्त्र जेठ १५ मा आएको हो, अब अन्त्य पनि यही मितिमा हुन्छ," उनले भने, "मान्छे मर्ने समय आफ्नै जन्म महिना, वार, तिथि र नक्षत्रमा आउँछ भनेझैँ, गणतन्त्रको पनि अन्त्य जेठ १५ मै हुनेछ।"
गुरुङले आन्दोलन कसरी अघि बढ्ने भन्नेबारे अर्को फोरममा खुलासा गर्ने बताए। २०८२ को जेठ १५ मा राजतन्त्र फर्किने र आफूहरूको ‘अभिष्ठ सिद्धि’ हुने उनको भनाइ छ।
उनले पृथ्वीपथलाई रैथाने पथ भनेका छन्। जनताको हक अधिकारको सवाल पृथ्वीपथले उठाएको उल्लेख गर्दै गुरुङले राज्यलाई थाम्ने जिम्मा राजाको हुने र राजालाई सचेत गराउने काम नागरिकको हुने बताए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology