काठमाडौं । काठमाडौंमा जारी अप्टिकल एक्स्पोमा सहभागी व्यवसायीहरुले चश्मा व्यवसायलाई बजेट र तालिमको व्यवस्थासहितको योजनामा समेट्न सरकारसँग माग गरेका छन्। चस्मा मानव शरीरको अत्यन्त संवेदनशील र आवश्यक अंग आँखासँग प्रत्यक्ष सम्बन्धित रहेको उल्लेख गर्दै व्यवसायीहरुले चश्मा व्यवसायीका हकहितका लागि योजना बनाउनु राज्य दायित्व भएको बताए ।
एक्स्पोमार्फत ग्राहक र व्यवसायीबीचको प्रत्यक्ष सम्पर्कले भविष्यमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रेरणा मिलेको उनीहरुले बताएका छन्।व्यवसायीहरुको भनाइमा, यस्तो प्रदर्शनीले खुद्रा चश्मा पसलहरुमा आवश्यक सम्पूर्ण सामग्री एउटै थलोमा उपलब्ध गराएर व्यवसायलाई थप सहज बनाउने काम गरेको छ। पहिलोपटक आयोजना गरिए पनि ग्राहकको बाक्लो उपस्थितिले कार्यक्रम सफल देखिएको व्यवसायीहरुको अनुभव छ।
अप्टिकल एशोसिएशन व्यवसायी सङ्घका सहसचिव देवेन्द्र मास्केले नेपालमा चश्मा व्यवसायले अर्थतन्त्रमा उल्लेखनीय हिस्सा ओगटेको बताए। उनका अनुसार आँखाको जस्तो संवेदनशील क्षेत्रमा काम गर्ने व्यवसायीहरुलाई संरक्षण र प्रवद्र्धनका कार्यक्रमले थप ऊर्जा दिनेछन्। भीडले नै प्रदर्शनीको प्रभाव र आवश्यकता प्रमाणित गरेको उनको भनाइ छ। उनले राज्यले चश्मा व्यवसायीका लागि तालिमको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्।
चश्मा होलसेल सङ्घका महासचिव छविलाल तिमल्सिनाले चश्माको आयातमा अत्यधिक कर लगाइएकोप्रति आपत्ति जनाए। कर तिर्दा पनि व्यवसायीलाई विभिन्न झन्झट भोग्नुपरेको उल्लेख गर्दै उनले आयातमा पुनर्विचार गर्न माग गरे। चश्मा स्वास्थ्यसँग सम्बन्धित वस्तु भएकाले भन्सार छुटको व्यवस्था गर्नुपर्ने उनको जोड छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology