काठमाडौं । शिक्षकहरूको आन्दोलनका कारण केही समय अन्योल देखिएको कक्षा १२ को परीक्षा अब तोकिएको मितिमै हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले यसअघि नै सार्वजनिक गरिएको तालिका अनुसार वैशाख ११ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।
बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार परीक्षा केन्द्र तोकिएका विद्यालयहरूलाई तयारीमा जुट्न र परीक्षा सञ्चालनमा सहयोग गर्न जिल्ला परीक्षा समन्वय समितिमार्फत अनुरोध गरिएको छ। पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष शर्माले भने, ‘परीक्षा केन्द्र तोकिइसकेका विद्यालयहरूमार्फत समयमै परीक्षा सञ्चालन गर्नका लागि पुनः अनुरोध गरिएको छ। विद्यार्थीहरूको भविष्यसँग जोडिएको विषय भएकाले कसैले पनि यसलाई हल्का रूपमा लिन मिल्दैन।’
शिक्षक आन्दोलनको पृष्ठभूमिमा केही विद्यालयहरूले परीक्षा बहिस्कार गर्ने संकेत दिएका थिए। तर बोर्डको भनाइमा परीक्षामा सहभागी हुने अपेक्षा गरिएको ५ लाख ५० हजारभन्दा बढी विद्यार्थीको भविष्यलाई अन्योलमा राख्न सकिन्न।
शर्माले स्पष्ट पारे, ‘हामीले हरेक जिल्लाका समन्वय समितिहरूलाई परीक्षा सञ्चालनका लागि आवश्यक तयारी थाल्न निर्देशन दिइसकेका छौँ। परीक्षा गम्भीर विषय हो, विद्यार्थीहरू लामो समयदेखि तयारीमै छन्।’
कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि सुरु भएर निर्धारित तालिकाअनुसार सञ्चालन हुने बोर्डले स्पष्ट पारेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology