काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ दलहरू र तिनका नेतृत्वप्रति लक्षित गर्दै देशको जिम्मा अनुभवहीनको हातमा दिन नसकिने बताएका छन्। मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राजनीति भन्ने चिज प्रयोगको विषय होइन भन्दै देश र जनतामाथि प्रयोग गरिँदा दुर्घटनाको जोखिम हुने टिप्पणी गरे।
“गाडी चलाउन नजान्नेले ड्राइभरको सिटमा बसेर गाडी हाँक्ने हो भने त्यो गाडी त्रिशूलीमै खस्छ,” उनले भने, “यस्तो खतरा मोलिन मिल्दैन।”
उनी भन्छन्, “राजनीति गर्नेले राजनीति गर्न हुँदैन भन्ने अनि राजनीति गर्न नजान्नेले गर्नुपर्छ भन्ने कुरा कहाँको तर्क हो ? जुनले कहिल्यै मेसिन चलाएको छैन, उसलाई मेसिन चलाउन दिने हो भने त्यो बिगार्छ। चिया उमाल्न नजानेले भान्सामा पस्न खोज्छ भने उसले चामल डढाउँछ, तरकारी बेसारमै डुबाउँछ।”
ओलीले नेताहरुले राजनीति गर्न सिकेका, पार्टी चलाउन जान्ने हुनुपर्ने उल्लेख गर्दै आफूहरूलाई हटाएर ‘अनाडी’लाई सत्तामा पुर्याउने प्रयास देशका लागि घातक हुने चेतावनी दिए। “भुइँफुट्टा आएको छ, ट्याँइट्याँइ गर्छ। राजनीति गर्न सिक्दै नसिकेका मान्छे गम्भीर कुरा गर्छन्। अनि यस्तो अनाडीलाई देश चलाउन दिने ?” उनले प्रश्न गरे।
प्रधानमन्त्री ओलीले एमालेलाई ‘महाप्रलय’कै शैलीमा हमला गरिए पनि त्यो पार्टी अझै पनि प्रमुख शक्तिका रूपमा स्थापित रहेको दाबी गरे। “एमालेलाई नबुझे पनि त्यो प्रमुख शक्ति हो,” उनले भने।
कार्यक्रममा ओलीले आफ्ना नेता–कार्यकर्तालाई पनि राजनीति कसरी गरिरहेको छ भन्ने कुरामा गम्भीर आत्ममन्थन गर्न आह्वान गरे। “राजनीतिक डुंगा चलाउने माझीलाई नै चलाउन दिनुपर्छ, नत्र डुंगा डुब्छ,” उनले चेतावनी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology