काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि कडा आरोप लगाएका छन् । उनले २०५८ सालमा शासन हातमा लिएपछि शाहले टेलिफोनको तार नै काटेर लगेको तर अहिलेसम्म फिर्ता नगरेको इतिहास पुनः स्मरण गर्नु पर्ने बताए ।
मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्रमाथि व्यङ्ग्य प्रहार गर्दै भने, “शासन हातमा लिँदा सञ्चार गृहमाथि गोली तेस्र्याइयो, टेलिफोनको लाइन काटियो, त्यति मात्र होइन—तार नै लगियो। अहिले पनि त्यो तार फिर्ता आएको छैन।”
उनले ज्ञानेन्द्र शाहलाई ‘मूर्ख’ को संज्ञा दिँदै सोधे, “लाइन काटेपछि कुरा सकिन्छ नि, तर तार नै किन लगिन्छ? कहाँ लगेको हो त्यो तार?” ओलीको यो टिप्पणीले पुर्वराजालाई मात्र होइन, वर्तमानमा आन्दोलनरत राजावादीहरुलाई पनि संकेत गरेको देखिन्छ।
प्रधानमन्त्री ओलीले फेरि प्रतिगमनको स्वर उठ्न थालेको भन्दै आश्चर्य व्यक्त गरे। “हामीले फालिसकेका, सयौँ वर्ष देशलाई अन्धकारमा राखेका, जनतालाई बुटले कुल्चिएका शक्तिहरू फेरि सल्बलिन थालेका छन्,” उनले भने, “२१ औँ शताब्दीमा श्रीपेच लगाएर महाराजधिराज भएर बस्ने सपना देख्न थालिएको छ। अब हामीलाई हुकुम दिने हो र?”
चैत्र १५ गतेका घटना सम्झँदै ओलीले आरोप लगाए, “पैसा तिरेर चार जना गुण्डा शहर झारियो, उपद्रव मच्चाइयो, व्यापारमा तोडफोड भयो, मान्छेमाथि आक्रमण गरियो, प्रहरीमाथि गाडी चढाइयो। अनि अहिले चाहिँ भन्न थाले, देश बिग्रियो, हामी सपार्न आउँछौं!”
राजतन्त्र फर्काउने नारा र आन्दोलनप्रति व्यङ्ग्य गर्दै उनले भने, “संविधान नमानेर संवैधानिक राजतन्त्र खोज्ने? जनताले बनाएको संविधान नमानी, लोकतन्त्र अस्वीकार गर्दै, श्रीपेचको सपना देख्ने? यिनीहरू कता जाँदैछन्?”
प्रधानमन्त्री ओलीले नेकपा एमालेको शक्तिलाई प्रतिगमनकारीहरूले अझै नबुझेको टिप्पणी गर्दै चेतावनी दिए, “हामी सहिराखेका छौँ, तर सहनुको पनि सीमा हुन्छ। जब जनतालाई हेपिन्छ, जनताको मूल्य घटाइन्छ, तब हाम्रो सहनशीलताले पनि सीमा पार गर्छ।”
उनले प्रतिगमन र अराजकताविरुद्ध दृढ संघर्ष गर्ने सन्देश दिँदै भने, “यिनीहरू हाम्रो गर्जन नपुगेको हुनाले सल्बलिएका हुन्। नयाँ शक्तिको नाममा अब तमाशा देखिंदैन। जनता जागेका छन्, एमाले तयार छ।”
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology