नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ७६ औँ स्थापना दिवस मनाइएको छ। २००६ साल वैशाख ९ गते भारतको कोलकातामा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो। नेतृत्वमा पुष्पलाल श्रेष्ठ थिए। संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ थिए भने संस्थापक नेतामा नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी र मोतीदेवी श्रेष्ठ थिए।
कम्युनिस्ट पार्टी स्थापनाको ७६ वर्षे इतिहासलाई आजका कम्युनिस्ट पार्टीहरूले खुलेर प्रशंसा गरे पनि त्यो इतिहास सुखदायी छैन। अहिले कम्युनिस्ट पार्टीहरू चारतिर फर्किएका छन्। २०१७ सालमा पहिलोपटक फुटेका कम्युनिस्ट पार्टीहरू लगातार विभाजनको चक्रमा छन्। २०७४ को निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्र एकै ठाउँ उभिए, झन्डै दुई तिहाइ सिट हासिल गरे। त्यसपछि २०७५ जेठ ३ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भयो, अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ थिए। तर, त्यो एकता लामो समय टिकेन। नेकपा फुटेपछि एमाले र माओवादी केन्द्र पुनः ब्युँतिए। एमालेबाट छुट्टिएर माधवकुमार नेपालले एकीकृत समाजवादी गठन गरे।
हाल नेपालमा १६ वटा कम्युनिस्ट पार्टी छन्, कोही संसदभित्र छन्, कोही संसदबाहिर। संसदभित्र एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नेमकिपा, राष्ट्रिय जनमोर्चा जस्ता दल छन् भने संसदबाहिर मसाल (मोहनविक्रम सिंह), विप्लव नेतृत्वको नेकपा, मोहन वैद्यको क्रान्तिकारी कम्युनिस्ट पार्टी, सिपी मैनाली नेतृत्वको मालेलगायत छन्।
एकातिर कम्युनिस्ट एकताको चर्चा छ, अर्कातिर ती पार्टीहरूबीच गम्भीर आरोप–प्रत्यारोप चलिरहेका छन्। मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७५ को वाम एकता सम्झिए। उनले माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधव नेपालतर्फ लक्षित गर्दै आलोचना गरे।
ओलीले भने, “२०७५ मा झन्डै दुई तिहाइको शक्तिका साथ कम्युनिस्ट पार्टी उभिएको थियो। नेपालमा कुनै पनि पार्टी यति मजबुत रूपमा आएको थिएन। तर, केही ईष्र्यालु र कठपुतलीहरूले पार्टी फुटाए। दुई तिहाइमा पुगेको पार्टीलाई टर्च बालेर खोज्दा पनि नभेटिने बनाइदिन्छौं भन्दै एमालेमै बसेर अघाएका किर्नाजस्ता भए। कोही १३ वर्ष, कोही १५ वर्षसम्म पार्टी नेतृत्वमा रहे। तर, निर्लज्ज ढंगले पार्टी सिध्याउँछु भनेर हिँडे। जुन आमाको कोख र दूधबाट हुर्किए, त्यसै आमालाई नै अस्तित्वमार गर्ने अपराधी प्रवृत्ति देखियो।”
माओवादी अध्यक्ष प्रचण्डले भने आफूहरू क्रान्तिकारी कम्युनिस्ट एकताको प्रयासमा रहेको बताए। उनले एकताका लागि न थाकिएको न आत्तिएको जिकिर गरे। मंगलवार आयोजित कार्यक्रममा उनले सबै क्रान्तिकारी कम्युनिस्टहरूलाई छलफलमा आउन अपिल गरे।
उनको भनाइमा, “हामी कम्युनिस्ट एकताको झन्डा बोक्न छाडेका छैनौं। तर त्यो एकता सच्चा कम्युनिस्ट र क्रान्तिकारीबीचको हुनुपर्छ। हामीले विगतमा केही प्रयोग ग¥यौं, असफल भयौं। अवसरवादका कारण एकता सफल भएन। तर, हामी थाकेका छैनौं।”
एकीकृत समाजवादीका झलनाथ खनालले पनि नेकपा एमाले र माओवादी केन्द्र दुवैमाथि प्रहार गरे। उनले माओवादीलाई काँग्रेसको पिठ्युँ चढेर घमण्ड गर्ने अवसरवादी भने। एमालेले पनि काँग्रेसकै सहारामा बहुमत ल्याउने घमण्ड गरेको बताए।
खनालले भने, “कम्युनिस्ट आन्दोलनको नाममा एमालेले अर्को चुनावमा पनि जित्ने घमण्ड गरिरहेको छ, तर काँग्रेसको पिठ्युँमा बसेर। माओवादी अध्यक्ष प्रचण्ड पनि अस्तिसम्म काँग्रेसकै बुई चढेर कराइरहेका थिए। अहिले ओली पनि तातो पिठ्युँमा बसेका छन्। हामीले पनि एक दुईवटा मन्त्रालय पाउँदा त्यतै गयौं। त्यसबाट के पायौं? सबैले समीक्षा गरौँ।”
नेकपा नेतृत्वकर्ता नेत्रविक्रम चन्द (विप्लव) ले भने माओवादी अध्यक्ष प्रचण्ड र डा. बाबुराम भट्टराईप्रति गुनासो गरे। उनले ती नेताहरूलाई जिन्दगी नै दिएको तर उनीहरूबाट साथ नपाएको बताए।
उनले भने, “हामीले प्रचण्ड, बाबुरामलाई साथ दिएका थियौं। घाइते भयौं, परिवार गुमायौं, जिन्दगी समर्पण गर्यौं। तर, उनीहरूले एकचोटि पनि हामीलाई हेरेनन्, साथ दिन सक्दैनन् भन्न सकेनन्।”
हाल नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल, र विप्लव नेतृत्वको नेकपा मिलेर २०८० असार ४ मा समाजवादी मोर्चा गठन गरिएको छ। तर, मोर्चाको औचित्य र सक्रियता अपेक्षित देखिएको छैन।
नेपालमा कम्युनिस्टहरूको एकता होस् या नहोस्, सत्ता र कुर्सीको प्राथमिकताले गर्दा संसद्मा प्रतिनिधित्व गर्ने कम्युनिस्ट दलहरू मिल्न सधैँ तयार देखिन्छन्। तर त्यही प्राथमिकताले गर्दा कम्युनिस्ट एकता चर्चाबाट बाहिर निस्कन सकेको छैन।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology