जनकपुर । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाल हिन्दु धर्मावलम्बीहरुको तपोभूमि भए पनि सरकारले त्यसको प्रचारप्रसार गर्न नसकेको टिप्पणी गरेका छन्।
जनकपुरमा मंगलबार आयोजित ‘नेपालको समृद्धिमा भारतको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने, “हाम्रो धार्मिक सम्पदाको प्रचार भारतीय प्रधानमन्त्रीले गरिरहेका छन्, तर हामी आफ्नै प्रधानमन्त्रीबाट त्यसप्रति चासो देखिँदैन।”
गुरुङले पशुपतिनाथ, लुम्बिनी, मुक्तिनाथ, जनकपुरधामजस्ता धार्मिक स्थलहरूमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ध्यान गरेर प्रचार गरेको स्मरण गराउँदै नेपालको प्रधानमन्त्रीबाट भने यस्तो पहल कहिल्यै नभएको बताए। उनले धार्मिक पर्यटन प्रवर्द्धन गर्न नेपाल सरकार आफैं तत्पर हुनुपर्नेमा जोड दिए।
“ताप्के नतातिएपछि बिँड तातेर के फाइदा?” भन्दै गुरुङले धर्म र आस्थामा नेपाली नेताहरूले अग्रसरता नलिएको आरोप लगाए। पशुपतिनाथको जलहरिको विषयलाई लिएर नेपालीहरूकै आलोचना देखिन्छ भने उनले त्यसबाट अनास्था फैलिएको बताए।
भारतीय सेनामा नेपाली युवाको भर्ती रोकिएको विषय उठाउँदै उनले भने, “हामीले भारतीय सेनामा भर्ती रोक्यौं, तर आज नेपाली युवाहरू युक्रेन–रूस युद्धमा पुगेर लड्न बाध्य छन्। यसले देखाउँछ कि जीवन धान्न नेपाली कति संघर्षशील छन्।”
गुरुङले समृद्धिका लागि छिमेकीसँग प्रगाढ सम्बन्ध राख्नुपर्ने बताए। “हामीले आफू केही नगर्ने, अरुले सबै गरिदिऊ भन्ने सोच राखेर हुँदैन। नेतृत्वमा बसेकाहरूले पहिला आफ्नै भूमिका स्पष्ट गर्नुपर्छ,” उनको भनाइ थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology