काठमाडौं । नेपाली काँग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले प्राथमिकताबाहिरका आयोजनामा बजेट छुट्याउनु उपयुक्त नहुने बताएका छन्। बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै महतले परिणाम नदेखिने आयोजनामा ‘कैँची’ चलाउनुपर्ने धारणा राखे।
महतले विभिन्न स्रोतबाट प्रस्तावित हुने आयोजनामध्ये उत्पादन र गतिशीलता नबढाउने योजनालाई घटाउनु अपरिहार्य भइसकेको बताए। उनले भने, “जुन आयोजनाबाट प्रतिफल देखिँदैन, त्यसमा बजेट खर्च गर्नुको औचित्य छैन। प्राथमिकतामा नरहेका आयोजना धेरै छन्, खासगरी सडक क्षेत्रमै। ती घटाउनुपर्छ। जहाँ जनघनत्व छ, पर्यटनको सम्भावना छ र उत्पादनको पकेट हुनसक्छ, त्यहाँ कनेक्टिभिटीका आयोजना पूर्ण रूपमा बजेट सुनिश्चित गरेर अघि बढ्नुपर्छ। त्यसले रोजगारी र मोबिलिटी दुबैमा सकारात्मक असर पार्छ।”
पूर्वअर्थमन्त्री महतले सरकारलाई सुझाव दिँदै प्रतिफलमुखी आयोजना छनोट गर्न आग्रह गरे। उनले जनसङ्ख्या, पर्यटन र उत्पादनका आधारमा बजेटको प्राथमिकता निर्धारण गरेमा देशको अर्थतन्त्रमा प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरे।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology