काठमाडौं । लोकतन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ। प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनमा जीवन उत्सर्ग गर्ने सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै देशभर कार्यक्रमहरू आयोजना गरिएको छ।
विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित संसद् पुनःस्थापना गर्दै कार्यकारी अधिकारबाट आफू अलग भएको घोषणा गरेको दिनको सम्झनामा लोकतन्त्र दिवस मनाइने गरिन्छ। उक्त घोषणामार्फत निरङ्कुश शासन अन्त्य भएको थियो। घोषणा मार्फत जनआन्दोलनले अभिव्यक्त गरेको जनभावनाअनुरुप संसद् पुनःस्थापना गरिएको थियो।
त्यसपछिको इतिहास जनआन्दोलन–२ का रूपमा चिनिन्छ, जसमा सात दल र तत्कालीन विद्रोही नेकपा (माओवादी)को निर्णायक सहभागिता थियो। यही आन्दोलनकै परिणामस्वरूप विसं २०६३ वैशाख १५ मा प्रतिनिधिसभाको बैठक आह्वान भएको थियो।
लोकतन्त्र स्थापनापछि दुईवटा संविधानसभामार्फत तयार भएको संविधानले विसं २०७२ असोज ३ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको हैसियतमा प्रवेश गराएको हो। त्यसयता सङ्घ, प्रदेश र स्थानीय तहमा दुईपटक निर्वाचन भइसकेको छ, र अहिले मुलुक सङ्घीयताको अभ्यासमा छ।
सङ्घीयताले सेवा सुविधालाई नागरिकको पहुँचसम्म पुर्याउने र विपद्का बेला राहत तथा सहयोगमा संयन्त्रको समन्वयलाई प्रभावकारी बनाएको सरकारको भनाइ छ।
लोकतन्त्र दिवसको अवसरमा देशका विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना व्यक्त गरेका छन्। परिवर्तन र शान्तिकामी शक्तिहरूबीच सहकार्यको आवश्यकता औँल्याउँदै, देशको समृद्धिका लागि सबै शक्ति एकजुट हुनुपर्ने धारणा सार्वजनिक भएको छ। लोकतन्त्रभन्दा उत्कृष्ट शासन व्यवस्था सम्भव नरहेको सन्देश दिँदै नेताहरूले लोकतान्त्रिक मूल्यको संरक्षण र प्रवर्धनमा जोड दिएका छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology