बुटवल । भारतको जम्मु कश्मीरमा आतंकवादी आक्रमणमा परी ज्यान गुमाएका बुटवलका सुदीप न्यौपाको शव आज बिहान बुटवल ल्याइएको छ। २७ वर्षीय सुदीप मंगलबार दिउँसो कश्मीरको वैसरण उपत्यकामा घुम्ने क्रममा आतंकवादीको गोली लागेर मारिएका थिए।
रुपन्देहीका प्रहरी प्रमुख रञ्जितसिंह राठौरका अनुसार सुदीपको शव नयाँ दिल्लीबाट लखनउसम्म हवाई मार्ग हुँदै, त्यसपछि सडकबाट बेलहिया नाका ल्याइएको हो। बिहीबार बिहान सात बजे शव नेपाल प्रवेश गरेको थियो। त्यसपछि शवलाई बुटवल–११, मनकामनापथस्थित घरतर्फ लगिएको हो।
बुटवल–१४ का वडाध्यक्षसमेत रहेका सुदीपका काका दधिराम न्यौपानेका अनुसार शव अन्तिम श्रद्धाञ्जलीका लागि घरमा राखिएको छ।
सुदीप आमा रिमाकला, बहिनी सुष्मा र ज्वाइँ युवराज काफ्ले सहित शनिबार बुटवलबाट कश्मीर गएका थिए। वैसरण उपत्यकामा हिउँ खेल्न पुगेका उनीहरू मंगलबार दिउँसो आतंकवादी आक्रमणमा परेका थिए। सुदीपको मृत्यु भयो भने उनकी आमा रिमाकला सामान्य घाइते भएकी छन्। भागेर ज्यान जोगाएका उनीहरू पनि शवसँगै नेपाल फर्किएका छन्।
आतंकवादी आक्रमणमा सुदीपसहित २६ जनाको मृत्यु भएको थियो, तीमध्ये दुई जना विदेशी नागरिक थिए।
सुदीप आमा र बहिनीसँग बुटवल–११ कालीकानगरमा बस्दै आएका थिए। उनका बाबु ध्रुव न्यौपाने शिक्षक आन्दोलनका क्रममा काठमाडौंमा थिए। मंगलबार घर फर्कने क्रममा उनले छोराको मृत्युको खबर सुनेका थिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology