काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले संघीय संसदको आगामी वर्षे अधिवेशनलाई प्रभावकारी बनाउन तयारी तीव्र पारेको छ। बिहीवार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले सांसदहरूलाई जनताको भावना प्रतिनिधित्व गर्ने गरी प्रस्तुत हुन निर्देशन दिएका छन्।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक हितराज पाण्डेले नीति तथा कार्यक्रम, प्रि बजेट र बजेटजस्ता विषयहरूमा दलको स्पष्ट धारणा बनाउने प्रयास भइरहेको जानकारी दिए। उनका अनुसार विद्यालय शिक्षा विधेयक र संघीय निजामति विधेयक जस्ता बहुप्रतिक्षित विधेयकलाई संसदबाट पारित गराउने र शिक्षक आन्दोलनका मुद्दा सम्बोधन गर्ने विषयमा बैठकमा विशेष जोड दिइएको थियो।
माओवादी केन्द्रले शिक्षकहरूसँग संवाद गर्ने र अन्य प्रतिपक्ष दलहरूसँग सहकार्य गरेर साझा रणनीति बनाउने निर्णय गरेको छ। पार्टीले सरकारलाई गैरजिम्मेवार ठहर गर्दै संसद र सडक दुवैबाट दबाब सिर्जना गर्ने बताएको छ।
गोरखा भूकम्पको १० वर्ष पुगेको स्मरणमा अध्यक्ष दाहाल गोरखा जाने कार्यक्रम रहेको छ भने त्यसपश्चात अन्य प्रतिपक्षहरूसँग थप छलफल अघि बढाइने जनाइएको छ।
पार्टीले वैशाख १७ गते कञ्चनपुरमा जनसम्पर्क अभियान समापन गर्दै संसदमा जनताको अपेक्षा ठोस रूपमा प्रस्तुत गर्ने तयारी गरेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology