काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन आजबाट सुरु हुँदैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनेछन् । साथै, प्रधानमन्त्रीको कार्यभार, मन्त्रिपरिषद् गठन र जिम्मेवारी थपबारे पत्रको ब्यहोरा पनि सभामुखले संसदमा सार्वजनिक गर्नेछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आजको बैठकमा समसामयिक विषयमा सम्बोधन गर्ने तयारी गरेका छन् । प्रधानमन्त्रीले नयाँ आर्थिक वर्षको सन्दर्भमा सरकारको प्राथमिकता संसदमार्फत प्रस्तुत गर्ने बुझिएको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ संसदमा प्रस्तुत गर्ने कार्यक्रम छ ।
गएको चैत १८ मा सकिएको संसद्को हिउँदे अधिवेशनपछि आजबाट सुरु हुने यो अधिवेशनलाई बजेट अधिवेशनका रूपमा लिइएको छ । संविधान अनुसार पहिलो अधिवेशनपछि राष्ट्रपतिले संसदका दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रममार्फत सम्बोधन गर्ने प्रावधान छ ।
नीति तथा कार्यक्रम वैशाख १९ गते संसदमा प्रस्तुत गरिनेछ भने वैशाख २८ देखि ‘प्रि बजेट’ छलफल सुरु हुने संसद सचिवालयले जनाएको छ । कानुनअनुसार बजेट प्रस्तुत हुनु अगाडि कम्तीमा १५ दिन संसदमा प्रि बजेट छलफल गरिनुपर्छ ।
संसद्को यो अधिवेशनमा संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गर्ने तयारी पनि गरिएको छ ।

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology