तानसेन । समाजवादी कम्युनिस्ट पार्टीले तानसेन नगरपालिका–७ स्थित ३५ रोपनी जग्गा कब्जा गरेको घोषणा गरेको छ । शुक्रवार पार्टी जिल्ला सचिव हेमन्तको नामबाट जारी गरिएको प्रेस विज्ञप्तिमा तानसेन नगरपालिका क्षेत्रभित्रको प्रभास तालको दोस्रो पोखरी मासेर निर्माण गरिएको जग्गा कब्जा गरिएको जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ — “गुण्डागर्दी र भुमाफियासँग मिलेर प्रभास तालको दोस्रो पोखरी मास्ने काम भएको छ। त्यो ३५ रोपनी क्षेत्र सिमसार र पर्यावरणीय सन्तुलनको दृष्टिले अति संवेदनशील भएकाले अब त्यो हाम्रो कब्जामा छ ।”
विज्ञप्तिमा पोखरी सिमसार क्षेत्रभित्र पर्न गएको, जलस्रोत ऐन २०४५ उल्लंघन गरिएको र जैविक विविधता मास्ने प्रयास भएको भन्दै पार्टीले मालपोतबाट हक हस्तान्तरण नगर्न र नापी कार्यालयलाई कित्ता काट नगर्न आग्रह गरिएको छ ।
आफुहरुको माग बेवास्ता गरिए थप संघर्ष हुने विज्ञप्तिमा जनाइएको छ ।
यसबारे स्थानीय प्रशासनको कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology