काठमाडौं । थाइल्याण्डमा सम्पन्न युएनएसक्याप सम्मेलनमा आफूले गरेको अध्यक्षताले नेपालको अन्तर्राष्ट्रिय छवि राम्रो भएको परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको दाबी छ। सरकार परिवर्तनको हल्लाबारे सञ्चारकर्मीले जिज्ञासा राखेपछि उनले त्यस्ता समाचारहरू मनोरञ्जनका लागि आउने गरेको प्रतिक्रिया दिइन्।
“सरकार परिवर्तन हुँदैछ भनेर प्रकाशित समाचार पढेर म आफैँ छक्क परेँ,” मन्त्री राणाले भनिन्।
थाइल्याण्डको बैंककमा वैशाख ८ देखि १२ गतेसम्म चलेको युएनएसक्यापको ८१ औँ सम्मेलनमा सहभागी भएर शुक्रवार स्वदेश फर्किएकी मन्त्री राणाले सम्मेलनमा उद्घाटन सत्र र जनरल डिबेटको पहिलो खण्डको अध्यक्षता आफूले गरेको जानकारी दिइन्। युएनको प्रणालीअनुसार अध्यक्ष र केही भ्वाइस प्रेसिडेन्टहरू रहने व्यवस्था अनुसार उनले सुरुआती सत्रको अध्यक्षता गरेपछि अरू प्रतिनिधिहरू पालैपालो अध्यक्ष बनेका थिए।
उनले सम्मेलनमा एशिया प्रशान्त क्षेत्रको आर्थिक र सामाजिक विकास, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोग आदानप्रदान, र दिगो विकास लक्ष्यहरू प्राप्तिका विषयमा छलफल भएको बताइन्। विशेषगरी ९२ देशहरूको समूह स्मल आइल्याण्ड नेशन्स तथा भूपरिवेष्ठित विकासोन्मुख राष्ट्रहरूको सत्रमा पनि अध्यक्षता गरेकी मन्त्री राणाले नेपाल हाल एलडिसी (LDC) समूहको अध्यक्ष देश भएकाले नेपालको उपस्थिति अझ महत्त्वपूर्ण भएको दाबी गरिन्।
उनका अनुसार, सम्मेलनको साइडलाइनमा युएनएसक्यापका कार्यकारी सचिव अर्मिदास आलिस्जाभासँगको भेटमा नेपालको विकास प्रयास, प्राविधिक सहायता, फण्डिङ मेकानिजम र भविष्यका सहकार्यका सम्भावनाबारे चर्चा भएको थियो।
उनले आफ्नो भ्रमणका क्रममा सगरमाथा संवादसम्बन्धी जानकारीसमेत राखेकी थिइन्। सम्मेलनमा सहभागी युएनएसका कार्यकारी सचिव समेत सगरमाथा संवादमा नेपाल आउन लागेको उनको भनाइ छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology