देवदह । देवदह नगरपालिकामा डेढ दशकदेखि निरन्तर संचालन हुँदै आएको पौडेल मिष्ठान्न भण्डारले अब आफ्नै भवनबाट सेवा दिने भएको छ। शनिवार संचारकर्मीसंग कुरा गर्दै संचालक खेमराज पौडेलले खाद्य प्रविधि तथा गुणस्तर विभागले तोकेका सम्पूर्ण मापदण्डहरु पुरा गरी आधुनिक व्यवस्थापनसहित नयाँ भवनबाट सेवा प्रवाह गर्न लागिएको बताए ।
“अत्याधुनिक खानेकुरा बनाउने चुलोदेखि स्टेनलेस स्टिलको चिम्नीसम्म सबै गुणस्तरीयतालाई ख्याल गरी निर्माण गरिएको छ ।" उनले भने, "भाडा माझ्ने ठाउँदेखि शौचालयसम्मलाई अत्यधिक हाइजेनिक बनाइएको छ ।”
उनले भण्डारमा प्रयोग हुने खाद्य वस्तुहरूको शुद्धतालाई समेत उत्तिकै उच्च प्राथमिकतामा राखिएको दावी गरे ।
पौडेलका अनुसार नयाँ स्थानमा सरिसकेपछि आन्तरिक व्यवस्थापनमा मात्र ५० लाख रुपैयाँभन्दा बढी लगानी गरिएको छ । पौडेल मिष्ठान्नले देवदहको स्थानीय पहिचानलाई झल्काउनेगरी मिनी हलसमेत निर्माण गर्ने तयारी गरिरहेको जनाइएको छ।
सामाजिक संवेदनशीलतालाई ख्याल गर्दै मिष्ठान्न भण्डारमा बालश्रम र मादक पदार्थ सेवन जस्ता कार्य निषेध गरिएको संचालक पौडेलले बताए ।
यसअघि तीन जना पारिवारिक सदस्यसहित ११ जनालाई स्थायी रोजगारी दिएको पौडेल मिष्ठान्नले अब ४ वटा नयाँ दरबन्दी सिर्जना गरी १६ जनालाई रोजगारी दिने जनाइएको छ ।
मिष्ठान्नमा दैनिक ६० लिटरभन्दा बढी दूधको खपत हुने र स्थानीय किसानले उत्पादन गर्ने दुध नै आफुहरुले खरिद गर्दै आएको संचालक पौडेलले बताए ।
आफु २०६७ सालमा रुपन्देहीमा रेष्टुरेन्ट खोल्ने योजना लिएर आएको बताउँदै संचालक पौडेलले बुझ्दै जाँदा मिष्ठान्न व्यवसाय नै उपयुक्त लागेर व्यवसाय सुरु गरेको बताए । त्यसयता उनले यसलाई निरन्तरता दिँदै आएका छन्। उनी भन्छन्, “मिष्ठान्नमै केही गर्नुपर्छ भन्ने लागेको थियो, १५ वर्षदेखि विभिन्न आरोह अवरोहसंग जुध्दै यसैमा रमाएको छु ।"
१७ गते एक कार्यक्रमबीच मिष्ठान्न भण्डारको औपचारिक उद्घाटन गरिने जनाइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology