काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार सुशासनका विरुद्ध खडा गरिएको विचौलियाहरूको सरकार भएको टिप्पणी गरेका छन्। शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले अहिलेको सरकार गैरजिम्मेवार र सुशासन विरोधी रहेको आरोप लगाए।
अलिकति पनि राजनीतिक विवेक र ज्ञान भएका मानिसले समेत यो सरकार विचौलियाको हो भनेर स्वीकार गर्न थालेको उनको भनाइ छ। दलाल पुँजीपति, विचौलिया र नोकरशाहहरूको हित गर्ने, भ्रष्टाचारीको संरक्षण गर्ने र राम्रो काम गर्नेहरूलाई प्रताडित गर्ने सरकार बनेको प्रचण्डले टिप्पणी गरे।
देशमा अहिले बडो विचित्र अवस्था रहेको बताउँदै उनले लाखौँ शिक्षक सडकमा आन्दोलनरत हुँदा पनि सरकार र नेतृत्वले शिक्षकहरूको माग सम्बोधन नगरी शिक्षा क्षेत्रमा अराजकता फैलाउने र शिक्षकहरूलाई अपमानित गर्ने काम गरेको आरोप लगाए।
"अब त सबैले बुझ्न थालेका छन्, अहिलेको सरकार सुशासन विरोधी, दलाल र भ्रष्ट तत्वहरूको संरक्षणकर्ता सरकार हो," उनले भने, "शिक्षकहरूको आन्दोलन एक महिनासम्म जारी छ, तर सरकार गैरजिम्मेवार बन्दै शिक्षकहरूलाई थप अपमानित गर्न उद्दत छ।"
अध्यक्ष दाहालले शिक्षकहरूसँग भएका सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। माओवादी केन्द्र छोटो बाटोबाट विधेयक ल्याएर शिक्षकहरूको माग सम्बोधन गर्ने पक्षमा रहेको उनले बताए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology