काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदमा सांसदहरू कसरी प्रस्तुत हुनुपर्ने भन्ने विषयमा आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले सांसदहरूलाई संसदभित्र मर्यादित, तथ्यपरक र जनभावना प्रतिबिम्बित हुनेगरी प्रस्तुत हुन आग्रह गरे ।
उनले संसदमा कोही पार्टी वा सरकारविरुद्ध गलत ढंगले बोल्छ भने त्यसको तीव्र र तथ्यगत प्रतिवाद तुरुन्तै गर्नु निर्देशन दिए । 'भोलिको दिन कुर्दा प्रतिवादको प्रभाव घट्न सक्छ । त्यसैले तत्काल प्रतिक्रिया दिनुहोस्' उनले भने ।
सांसदहरूले संसदमा जबाफ दिने क्रममा सभ्य भाषा र मर्यादा कायम राख्नुपर्ने र लोकतन्त्रका लागि योगदान गर्ने जुनसुकै पार्टीका नेताहरूलाई सम्मान गर्नुपर्ने ओलीको भनाइ छ ।
बजेट अधिवेशनले देशको आर्थिक, सामाजिक र राजनीतिक दिशा तय गर्ने भएकाले सांसदहरूले राष्ट्रकेन्द्रित सोच र जनसमर्पित भावना बोकेर प्रस्तुत हुनुपर्ने ओलीको निर्देशन रहेको छ ।
सांसदहरूलाई अध्यक्ष ओलीले दिइएका १६ उपदेश यस्ता छन् :
१. सबै माननीयहरूले दस्तावेजहरू राम्ररी अध्ययन गर्ने, चिन्तन–मनन गर्ने, विभिन्न दस्तावेजहरूसँग तुलनात्मक अध्ययन गरी परिस्थितिलाई बुझेर काम गर्ने ।
२. तत्कालीन समस्याहरूलाई संसदमा सम्बोधन गर्ने विषयमा तयारी गर्ने ।
२. देश विकास तथा सुशासनका प्रश्नहरूमा कसरी अगाडि बढ्दा उपयुक्त हुन्छ भन्ने विषयमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने ।
३. बाढी, पहिरो लगायतका सम्भावित प्राकृतिक घटनाका विषयमा के भइरहेको छ र के गर्नुपर्छ भन्नेबारे जानकारी लिने, र आफूलाई तयारी अवस्थामा राख्ने ।
४. आफ्ना निर्वाचन क्षेत्रका जनताका समस्याका बारेमा संसदमा निर्भिक रूपमा समयमै आवाज उठाउने ।
५. समाजका सांस्कृतिक मूल्यहरू, चाडपर्व, रीतिथिति आदिको सम्मान गर्ने र अन्धविश्वासका आधारमा गरिने प्रताडनाजस्ता विकृतिको विरोध गर्दै जनजागरणमा लाग्ने ।
६. जनताका आवाजहरू प्रतिविम्बित हुनेगरी अर्थपूर्ण, मर्यादित र सभ्य शैलीमा तथ्यपरक र साहसिक रूपमा संसदमा प्रस्तुत हुने ।
७. राष्ट्रियताको पक्षमा स्पष्ट अडान लिएर बोल्ने, राष्ट्रलाई कमजोर पार्ने प्रवृत्तिहरूको तिखो ढंगले आलोचना गर्ने र देशभक्तिको भावना जागृत गराउने ।
८. पार्टीको विरुद्धमा कसैले गलत ढंगले बोल्छ भने तत्काल छिटोछरितो रूपमा प्रतिवाद गर्ने ।
९. संसदको आकस्मिक समयमा अरूलाई गाली नगर्ने, आकस्मिक घटना वा समस्यामा मात्रै केन्द्रित भएर बोल्ने ।
१०. लोकतन्त्रका लागि योगदान गर्ने जुनसुकै पार्टीका व्यक्तिहरूप्रति सम्मान जनाउने र संकीर्ण सोच नराख्ने ।
११. सरकार ढल्यो भन्ने हल्लामा नलाग्ने र मिशन ०८४ मा केन्द्रित रहने ।
१२. नेपाल महान देश हो भन्ने भावनालाई आत्मसात गर्दै विविधतालाई एकतामा बदल्दै विकास निर्माणमा समर्पित हुने ।
१३. समाजमा सुसम्बन्ध ल्याउने गरी इमानदारिता र जनताको सेवाको राजनीति गर्ने ।
१४. गलत ढंगका विधेयक पारित भएमा विकास निर्माण र जनसेवामा प्रतिकूल असर पर्ने भएकाले सही विधेयकहरू पास गराउने र गलत विधेयकहरू पारित नगराउने भूमिकामा सक्रिय रहने ।
१५. आफ्नो देशको विकास आफैंले गर्न सकिने भएकाले सोही अनुरूप सजग र सचेत रहने ।
१६. आत्मविश्वास, पूर्वतयारी र एमालेपनका साथ संसदमा प्रस्तुत हुने ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology