लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति आजको सबैभन्दा ठूलो आवश्यकता भएको बताएका छन् । शनिबार लुम्बिनीमा आयोजित चौथो एशियाली बौद्ध सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै ओलीले अहिले दुनियाँमा युद्धका बादल मडारिरहेको भन्दै गहिरो चिन्ता व्यक्त गरे ।
युद्धका लागि जल, स्थल र आकाश तीनै माध्यमबाट प्रहार गर्न सकिने गरी सैन्य शक्ति र खतरनाक हतियारहरूको निर्माण भइसकेको उल्लेख गर्दै उनले यो अवस्था विश्व शान्तिका लागि गम्भीर चुनौती बनेको बताए ।
ओलीले भने, "शान्ति आजको बढी आवश्यकता हो । किनभने आज दुनियाँमा युद्धका बादलहरू मडारिरहेका छन् । दुनियाँ कहीं युद्धतिर त जाँदैन भन्ने डर बढेको छ । युद्ध गर्नका लागि पर्याप्त सैन्य शक्ति निर्माण भएको छ । जल, स्थल र आकाश सबै ठाउँबाट युद्ध लड्न सकिन्छ । खतरनाक हतियारहरू निर्माण भएका छन्। यो अवस्था विश्व शान्तिका लागि गम्भीर चुनौती हो। यसलाई रोक्न जरुरी छ ।"
प्रधानमन्त्री ओलीले युद्धबाट युद्ध वा हिंसामाथि हिंसा थपेर कहिल्यै पनि शान्ति स्थापना हुन नसक्ने तर्क प्रस्तुत गरे । उनले भने, "हतियारले शान्ति स्थापना गर्न सक्दैन । युद्धमाथि युद्ध, हिंसामाथि हिंसा थोपरिएर अझ ठूलो हिंसा र विनाश फैलाएर शान्तिको सम्भावना हुँदैन । त्यसैले, विश्वभरका सचेत र शान्तिप्रिय मानिसहरूको शान्तिको लागि उठेको आकांक्षा अहिले सर्वाधिक महत्वपूर्ण छ ।"
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology