काठमाडौँ । आज मातातीर्थ औँसी मनाइँदैछ, जसको उद्देश्य जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्नु हो। प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन यस पर्वलाई ‘आमाको मुख हेर्ने दिन’ वा ‘आमा खुवाउने औँसी’ पनि भनिन्छ।
आज दिन बिहान सबेरै स्नान गरी आमालाई उपहार दिने, विभिन्न मिष्ठान्न खुवाइ आमाको मुख हेर्ने र आशिर्वाद लिने प्रचलन छ। आमा नभएकाहरूले भने श्राद्ध गर्दै आमाको सम्झना गर्छन्।
हाम्रो सांस्कृतिक परम्पराअनुसार यो विशेष दिनलाई आमाप्रति श्रद्धा व्यक्त गर्ने अवसरका रूपमा लिइन्छ।
घरबाट टाढा रहेकाहरू आमाको मुख हेर्नका लागि घर पुग्ने र घर जान नपाए पनि टेलिफोनमार्फत आमालाई सम्झने गर्दछन्। आजकल सामाजिक सञ्जालमा आमाको तस्वीर राखेर सम्मान व्यक्त गर्ने चलन पनि बढेको छ।
यसैबीच, दिवंगत आमाको सम्झनामा श्राद्ध र दान गर्न वैशाख कृष्ण औँसीका दिन काठमाडौंको थानकोट क्षेत्रमा रहेको मातातीर्थमा मेला लागेको छ। मेला भर्न आएका भक्तजनहरू बिहानैदेखि घुइँचोमा छन्। कतिपय दर्शनार्थीहरूले शनिबार साँझ दीप प्रज्वलन गरी रातभर जाग्राम बसेका थिए र बिहान सबेरै स्नान गरी पूजा गरेका छन्।
मेलामा सहभागी भएर मातातीर्थ कुण्डमा दर्शन गर्दा दिवंगत आमाले तिर्नुपर्ने ऋणबाट मुक्त हुने विश्वास गरिएको छ। आमा नहुनेहरूले मातातीर्थमा स्नान गरी हरिहर (विष्णु र शिव) को पूजा गर्छन्। यस दिनलाई खास गरेर आमा नभएका व्यक्तिहरूले श्राद्ध र तर्पण दिने अवसरका रूपमा लिने गर्दछन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology