काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सरकारलाई आफ्नो आयुको भन्दा उपलब्धीको चर्चा गर्न चुनौती दिएका छन् । प्रतिनिधि सभाको आइतवार बसेको बैठकमा सांसद झाले सरकारले उपलब्धी सुनाउन सके आयु स्वतः प्रष्टिने टिप्पणी गरेका हुन् ।
उनले अहिलेको समयमा विश्व समुदायमा अर्थतन्त्र र सम्भावित युद्धका असरहरूबारे गम्भीर बहस भइरहँदा नेपालका उद्योगमन्त्री भने चुरोट र रक्सीको लाइसेन्सको मूल्यबारे बहसमा अल्झिएको आरोप लगाए ।
सांसद झाले भने, "सरकारले आफ्नो उपलब्धीको चर्चा धेरथोर गरोस्, आफ्नै आयुभन्दा बढी गरोस् भन्ने चुनौती दिन चाहन्छु । यति महिनामा हाम्रो सरकारले के गर्यो भनेर परिणाम सुनाइएको भए राम्रो हुनेथियो । अहिले सरकार ढल्ने कि नढल्ने भन्ने बहस भइरहेको छ, तर विश्वजगत भने अर्थतन्त्रका उतारचढाव र क्षेत्रीय तनावका सम्भावनाबारे गम्भीर छलफल गरिरहेको छ । सबै देश अमेरिका र चीनसँगको व्यापार सम्बन्ध, भारत–पाकिस्तानबीचको सम्भावित द्वन्द्व र त्यसले पार्ने प्रभावबारे चिन्तित छन् । यता भने उद्योगमन्त्री चुरोट र रक्सीको लाइसेन्स कतिमा बेच्ने भन्ने छलफलमा व्यस्त छन् ।"
सरकार गठनका बेला भएको सात बुँदे सम्झौता सत्तारुढ दलहरूले नै बिर्सिसकेको भन्दै उनले त्यसप्रति पनि गुनासो पोखेका छन् । सहकारी क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्ने नाममा सरकार आफैंले नयाँ दलका नेतालाई थुन्ने प्रयास गरिरहेको आरोपसमेत सांसद झाले लगाएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology