बुटवल । लुम्बिनी केबलकारले जन्मदिनमा यात्रा गर्ने यात्रुहरूलाई दुईतर्फी टिकट निःशुल्क दिने घोषणा गरेको छ। केबलकार कम्पनीले यस अफरलाई १५ बैशाखदेखि लागू गर्ने जनाएको छ।
केबलकारको यात्रा प्रवद्र्धनका लागि ल्याइएको यस अफर अन्तर्गत जन्मदिनको मिति प्रमाणित गर्नका लागि आधिकारिक सरकारी कागजात देखाउनु पर्नेछ। यस अफरमा कामाख्या देवी मन्दिर दर्शन र अष्टचिरञ्जिवी पूजा गरिदिने व्यवस्था पनि गरिएको छ।
जन्मदिन परेका व्यक्ति कामाख्या मन्दिर पुगिसकेपछि वैदिक बिधिपूर्वक अष्टचिरञ्जिवी पूजा गरिदिने व्यवस्था गरिएको कामाख्या धामका मूल पुजारी सुरेश पौडेलले बताए। अष्टचिरञ्जिवी पूजा गर्नाले शरीर निरोगी एवं दीर्घायू हुने धार्मिक विश्वास रहेको उनको भनाई छ।
केबलकारको माथिल्लो स्टेशन बसन्तपुर समुन्द्री सतहबाट करिब एक हजार मिटर उचाईमा छ। त्यहाँ तराईको भन्दा ८ देखि १० डिग्री सेल्सियससम्म तापक्रम कम हुने भएकाले गर्मी मौसममा शीतल र चीसो हुनुका साथै धुंवाधुलोको प्रदुषणमुक्त स्वच्छ वातावरणमा रमाउन सकिने केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले बताए ।
बसन्तपुरमा स्तरीय रेष्टुरेन्ट, जीपलाइन, स्काई साइक्लिङ, आधुनिक पिङ, बाल उद्यान लगायत पर्यटकहरु रमाउने र भुल्ने पुर्वाधारहरु बनेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology