काठमाडौं । शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव कुमार नेपाल स्वयं प्रदर्शन स्थल जाने भएका छन्। उपाध्यक्ष जगन्नाथ खतिवडाले सोमबार अध्यक्ष नेपालको नेतृत्वमा पार्टीका नेता–कार्यकर्ताहरू बिजुलीबजार जाने जनाएका छन्।
खतिवडाले २६ दिनदेखि जारी आन्दोलनप्रति ऐक्यबद्धता जनाउन र सरकारले गरेको हेलचेक्र्याइँ, अपमान तथा दमनको विरोधमा वैशाख १५ गते दिउँसो साढे १२ बजे सबैलाई सहभागी हुन आह्वान गरेका छन्। उनले शिक्षकहरूले उठाएका मागहरू पूरा गर्न सरकारलाई आग्रह पनि गरेका छन्।
यसअघि आइतबार आन्दोलनरत शिक्षकहरू र प्रहरीबीच झडप हुँदा अवस्था तनावग्रस्त बनेको थियो।
प्रहरीले पानीको फोहोरा प्रयोग गर्दा एक जना पत्रकारसहित २३ जना घाइते भएका थिए।
घटनामा तीन जना सुरक्षाकर्मी र केही शिक्षक पनि घाइते भएको प्रहरीले जनाएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology