काठमाडौं । राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर बिष्टले देशमा गुण्डाहरूको शासन स्थापित भएको आरोप लगाएका छन्। सोमवार काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आयोजना गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै बिष्टले वर्तमान सत्ता व्यवस्थामाथि तीव्र असन्तोष व्यक्त गरे।
उनले विगतमा राजाले बनाएका सांसदहरूले नै राजा र हिन्दु राष्ट्रको विरुद्ध षड्यन्त्र गरी संघीयता लादेको दाबी गरे। उनका अनुसार आज मुलुकमा जनताको प्रशासन नभई दलको प्रशासन सञ्चालनमा छ र सरकारले जनआन्दोलन तथा विरोधहरूलाई बेवास्ता गरेको छ।
"सरकार भएको भए सुन्थ्यो, यो त गुण्डाहरूको हुल हो," बिष्टले भने, "पुलिस भएको भए सुन्थ्यो, यो त पार्टीको कार्यकर्ता भयो। सिडियो भएको भए सुन्थ्यो, यो पनि दलको कार्यकर्ता भयो।" उनले देश अराजकतातर्फ गइरहेको चेतावनी दिँदै धेरै शहीद जन्मिने खतरा बढेको उल्लेख गरे।
बिष्टले भने, "आज हामीले दुई जना शहीदलाई माल्यार्पण गर्यौँ, अब यस्ता धेरै शहीदहरू जन्मिने डर भयो। हामी त्यसका निम्ति पनि तयार हुनुपर्छ।" उनले देशभर ७५ वटै जिल्लामा राष्ट्रिय शक्ति नेपालको संरचना रहेको भन्दै सरकार र प्रशासनलाई सावधानी अपनाउन आग्रह गरे।
अध्यक्ष बिष्टले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)प्रति पनि आक्रोश व्यक्त गरे। उनले प्रचण्डले हालै राजसंस्थाप्रति दिएको अभिव्यक्तिलाई ‘बेइमानीपूर्ण’ भने। बिष्टले स्मरण गराए कि राजाले ज्यान मारेर आएकोलाई समेत क्षमा गरी सांसद बनाइदिएका थिए, तर आज त्यही समूहले राजसंस्थामाथि अपमानजनक टिप्पणी गरिरहेको आरोप लगाए।
"राजा नभएको भए आज प्रचण्ड पनि हुन्न थिए," बिष्टले भने, "राजाले बकस दिएर, खुट्टामा ढोगाएर सांसद बनाएका थिए। त्यसै रात आधा रातमा संसदमा बसेर राजा र हिन्दु राष्ट्र खारेज गरिएको हो।"
उनले मनमोहन अधिकारी, मदन भण्डारीजस्ता एमाले नेताहरूले समेत नेपालमा राजसंस्था आवश्यक रहेको धारणा व्यक्त गरेको उल्लेख गर्दै, नेपालको सन्दर्भमा राजसंस्थाको उपस्थिति अपरिहार्य रहेको तर्क गरे।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology