काठमाडौं । शिक्षक र सरकारबीचको वार्ता सकारात्मक बनेको छ। सोमबार राति भएको छलफललाई दुवै पक्षले सकारात्मक मूल्यांकन गरेका छन्। वार्तामा सहमतिका केही चरणहरू अगाडि बढेकाले आज बिहान पुनः वार्ता बस्ने तय भएको हो। बिहान ८ बजे तय गरिएको बैठकले निष्कर्ष निकाल्ने शिक्षक नेताहरूले बताएका छन्।
आजको औपचारिक बैठकअघि आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले आन्तरिक छलफल गर्ने जनाएको छ। महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले आन्तरिक समन्वयपछि वार्ता प्रक्रियामा फर्किने जानकारी दिइन्। शिक्षामन्त्री रघुजी पन्तका अनुसार वार्तामा धेरैजसो विषयमा सहमति भइसकेको र केही बुँदालाई मात्र अन्तिम रुप दिन बाँकी रहेको बताइएको छ। उनले मंगलबारभित्र सहमति टुंगोमा पुग्ने विश्वास व्यक्त गरेका छन्।
यद्यपि शिक्षक महासंघले वार्ता जारी रहे पनि आन्दोलन नरोकिने अडान दोहोर्याएको छ। सहअध्यक्ष पराजुलीले सहमति नभएसम्म सडक आन्दोलन कायम रहने स्पष्ट पारेकी छन्। मंगलबारसम्म सहमति भएमा मात्र बुधबारदेखि आन्दोलनको मोडालिटी परिवर्तन गरिने महासंघले जनाएको छ।
शिक्षक महासंघले गत चैत २० गतेदेखि शिक्षा ऐन संशोधनको मागसहित काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको छ। लामो समयदेखि जारी आन्दोलनका कारण नयाँ शैक्षिक वर्ष प्रभावित भएको छ। विद्यालय भर्ना अभियान, एसईई नतिजा प्रकाशन प्रक्रिया र कक्षा १२ को परीक्षा समेत असर परेको छ। यसअघि सर्वोच्च अदालतले तीन दिनभित्र शिक्षकका माग सम्बोधन गरी विद्यालय फर्काउन सरकारलाई आदेश दिएको थियो। तर, अदालतको आदेशपछि पनि समयसीमा सकिँदासम्म सहमति नजुट्दा आन्दोलन जारी नै रहेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology