काठमाडौं । संविधान संशोधनमार्फत शिक्षकलाई संघीय सरकारअन्तर्गत राख्न २७५ जना सांसद नै तयार रहेको दाबी गर्दै नेपाली काँग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले सबै दल मिलेर शिक्षकको माग सम्बोधन गर्नुपर्ने बताएका छन्।
मंगलवारको प्रतिनिधिसभा बैठकमा बोल्दै तिमल्सिनाले शिक्षकका माग धेरैपटक उठिसकेको र सम्भव भएसम्म सबै माग पूरा गरेर उनीहरूलाई विद्यालय फर्काउने वातावरण बनाइनु पर्नेमा जोड दिए। शिक्षकले शिक्षालाई स्थानीय तहमा नराख्नुपर्ने अडान राख्दै आएको स्मरण गराउँदै तिमल्सिनाले अब सबै सांसदहरू मिलेर संविधान संशोधन गर्ने जिम्मेवारी लिनुपर्ने धारणा राखे।
संसदमा बोल्दै सांसद तिमल्सिनाले भने, "२७५ जना सांसद तयार हुनुहुन्छ भने तत्काल हस्ताक्षर गरेर शिक्षकलाई संघ अन्तर्गत राख्ने व्यवस्थाका लागि संविधान संशोधन गर्नुहोस्। नत्र भने गोहीका आँशु चुहाउनुको अर्थ छैन।"
सत्तापक्ष र विपक्ष दुबै मिलेर पटक–पटक सरकारमा सहभागी भइसकेको प्रसंग उठाउँदै तिमल्सिनाले शिक्षक आन्दोलनजस्ता गम्भीर विषयमा राजनीतिक अभिनय गर्नु उचित नहुने संकेत गरेका थिए। उनले दलहरूबीच अहिले एकता देखिएकाले शिक्षकको माग सम्बोधनका लागि निर्णायक पहल गर्न ढिला गर्नुहुन्न भन्ने सन्देश दिएका छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology