काठमाडौँ । देशमा हाल विभिन्न वायुप्रणालीको संयुक्त असर देखिएको छ। पश्चिमी वायु, स्थानीय वायुले ल्याएको प्रभाव र बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाका कारण पहाडी क्षेत्रहरूमा मौसम बदली भएको छ। कोशी प्रदेशका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेकाले वातावरण आंशिकदेखि सामान्य बदली भएको छ, भने अन्य धेरै ठाउँमा आंशिक बदलीसँगै मौसम खुल्ला छ।
मंगलबार दिउँसोसम्म पहाडी भूभागमा बादल लाग्ने सम्भावना कायम छ। गण्डकी, बागमती, कोशी र कर्णाली प्रदेशका उच्च भूभागमा हल्का वर्षासँगै हिमपात हुन सक्ने अनुमान गरिएको छ। अन्यत्र पनि चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै लुम्बिनी प्रदेशको तराई क्षेत्रमा बेलुका–बिहान हावाहुरी चल्न सक्ने सम्भावना पनि देखिएको छ।
रातिको समयमा समेत मौसममा खासै परिवर्तन नआउने पूर्वानुमान गरिएको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। हिमाली भेगका एक–दुई स्थानमा हिमपात हुन सक्ने आँकलन गरिएको छ।
मौसममा देखिएको यस प्रकारको परिवर्तनले यातायात, कृषि, स्वास्थ्य र दैनिक क्रियाकलापमा असर पार्न सक्ने भएकाले सतर्कता अपनाउन मौसमसम्बन्धी निकायले सुझाव दिएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology