काठमाडौँ । देशभरको मौसममा पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली छ भने बाँकी क्षेत्रको मौसम मुख्यतः सफा छ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको जानकारी प्राप्त भएको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भेगका थोरै स्थानमा र बाँकी क्षेत्रका एक–दुई ठाउँमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। हिमाली क्षेत्रका केही स्थानमा हिमपातसमेत हुन सक्ने देखिएको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ। रातिको समयमा पनि पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षा र हिमाली भागमा हिमपातको सम्भावना कायमै रहनेछ।
यस्ता मौसमी परिस्थितिले जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पुर्याउन सक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology