आज मे १, अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस । ज्याला वा पारिश्रमिक लिएर अर्काको काम गर्ने मानिस श्रमिक हो भने श्रमिकलाई काममा लगाउने व्यक्ति वा संस्था रोजगार दाता हो । हरेक श्रम गर्ने मानिस श्रमिकको दायरा भित्र पर्दछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा “आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम” भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलन र उक्त आन्दोलनमा ज्यान गुमाउने श्रमिकको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउने गरिन्छ ।
सन् १८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताहरुको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यस लगत्तै सन् १९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखको दिनलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसको रुपमा मनाउन सुरु गरियो ।
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस् को १३६औं वर्ष हो । नेपालमा समेत विभिन्न कार्यक्रम गरेर यो दिवस मनाईदै छ । नेपालमा २००७ सालदेखि यो दिवस मनाउन थालिएको हो । यस दिन नेपाल सरकारले सार्वजनिक विदा दिने गरेको छ । श्रमिकहरुको हक अधिकार र काममा सम्मानजनक व्यवाहार स्थापित गर्न श्रमिकहरु एकजुट भएर मनाईने श्रमिक दिवसलाई एक महत्वपूर्ण दिनको रुपमा लिने गरिन्छ । पसिनाको सहि मुल्य कायम गराउँदै राज्यलाई जवाफदेहि र उत्तरदायि बनाउनु आजको मुख्य आवश्यकता रहेको छ । श्रम गरेर एक छाक खान समेत धौ धौ रहेको अहिलेको अवस्थालाई चिर्दै श्रमिकहरुलाई श्रम गरेरै उज्ज्वल भविष्यको परिकल्पना गर्नेसम्म बनाउनुपर्नेछ ।
हाल देशमा रहेको बढ्दो बेरोजगारीले निम्त्याएको वैदेशिक रोजगारीमा रहेर श्रम गर्ने हजारौ श्रमिकहरुका हक अधिकार स्थापित गर्दै सुरक्षित भविष्य देशमै खोज्ने वातावरण बनाउन सरकार अग्रसर हुनुपर्ने हो । तर विडम्बना देशको वर्तमान अवस्था त्यो भन्दा भिन्न छ । पछिल्लो तथ्याङ्कलाई हेर्ने हो भने दैनिक १५०० भन्दा बढि युवा विदेशी श्रम बजारमा आफ्नो श्रम बेच्नको लागि अन्तर्राष्ट्रिय विमानस्थलमा लाईन लाग्नुपर्ने परिस्थिती छ । लर्को लागेर विदेशिएका उनीहरुमध्ये केहि हरेक दिन जसो बाक्सामा फर्किनुपर्ने अवस्था छ । थाह छैन यो परिस्थिती कतिञ्जेल लम्बिने हो र कहिले ति युवाहरुको लागि ससम्मान स्वदेशमै श्रम गर्ने वातावरण बन्ने हो ?
श्रमजिवि वर्ग श्रमको भरमा हात मुख जोड्न समेत कठिन अहिलेको परिस्थितिमा कामको न्यायोचित मुल्य कायम हुनु पर्छ भन्ने कुरा पेचिलो बन्दै गएको छ । श्रम गर्नेहरुको अवस्था वर्षौ देखि यथावत छ भने विचौलिया र लगानि कर्ताको अवस्थामा भने उल्लेख्य सुधार भएको पाईन्छ । राज्यले कतिपय क्षेत्रका लागि तोकेको न्युनतम पारिश्रमिक समेत लागु हुन सकिरहेका छैनन् । श्रम गरेर खान, लाउन, पुग्ने अवस्था श्रृजना गर्न सकेमा देशको समग्र उत्पादकत्वमा प्रभाव पर्ने हुँदा यसतर्फ सरोकारवाला हरुको ध्यान जानु जरुरी छ ।
नेपालको संविधानले श्रमिकलाई रोजगारी, काम गर्ने वातावरण, उचित पारिश्रमिक र शोषणबाट सुरक्षा दिने अधिकार प्रदान गरेको छ । श्रमिकले ट्रेड युनियन गठन गर्ने र सामूहिक सौदाबाजी गर्ने अधिकार पनि संविधानले दिएको छ । नेपाल सरकारले श्रम ऐन २०७४ तयार गरि कार्यान्वयनमा ल्याएको छ ।
सरकारले श्रमिक सुरक्षा कार्यक्रमलाई अगाडि बढाउदै योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ मार्फत श्रमिकहरुको योगदानको कदर गर्दै सामाजिक सुरक्षाको सुनिश्चित गरेको छ । तर, औपचारीक तथा अनौपचारीक क्षेत्रमा कार्यरत श्रमिकहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने विषयमा विद्यमान तीनै तहका सरकारको पहल अपेक्षाकृत रुपमा देखिएको छैन । यसकारण, उल्लेख्य संख्यामा श्रमिकहरूले सामाजिक सुरक्षाको अनुभूति गर्न पाएका छैनन् । यदि सरकारले स्पष्ट कार्ययोजना सहित प्रभावकारी नीति कार्यान्वयन गर्न सकेमा श्रमिकहरू सुरक्षित वातावरणमा पूर्ण समर्पणका साथ कार्य गर्न सक्षम हुनेछन् । यसबाट उत्पादनशीलता र परिणाममा गुणात्मक सुधार आउनेछ, जसले नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य साकार पार्न महत्वपूर्ण योगदान पु¥याउनेछ ।
सामाजिक सुरक्षा कोषले श्रमिकको भविष्य सुरक्षित हुने गरी औषधी उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना सुरक्षा योजना, अशक्तता सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, बेरोजगार सहायता योजना र कोषले तोकेका अन्य सामाजिक सुरक्षा योजनाहरु अगाडि सारेको छ ।
हालसम्म कोषमा २० हजार चार सय २१ जना रोजगारदाता सूचिकृत भई सकेका छन् भने २१ लाख ८६ हजार पाँच सय २१ जना औपचारिक तथा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरु योगदान कर्ताको रुपमा सूचिकृत भएका छन् । श्रमिकहरु योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न सकेमा श्रमिक र परिवारहरुको सुरक्षित भविष्य सुनिश्चत हुने देखिन्छ । यसका लागि सम्बन्धित श्रमिक रोजगारदाता नियमनकारी निकायहरु सबैको संयुक्त पहलकदमी आवश्यक रहेको छ । यस १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसले हरेक श्रमिकको सुरक्षित भविष्य सहित श्रमको उचित मुल्य कायम गर्न सकोस् भन्ने अपेक्षा सहित अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सम्पूर्ण श्रमजिविहरुमा शुभकामना ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology